सुनसरी : भारतबाट भन्सार छलेर सुनसरी ल्याउँदै गरेको ठुलो परिमाणको डिएपी र युरिया मल ट्रक सहित सुनसरी प्रहरीले नियन्त्रणमा लिइएको छ । 
इलाका प्रहरी कार्यालय दुहबीको सादा पोसाक प्रहरी टोलीले दुहबी १० स्थित दुहबी इनरुवा सडक खण्डको चरैयाबाट को १ ख ७६१९ नम्बरको ट्रकमा लोड गरी इनरुवा ल्याउँदै गरिएको ८० बोरा युरिया र २० बोरा डिएपी प्रहरीले बरामद गरेको हो ।  
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभु प्रसाद ढकालले भारतबाट अवैध रूपमा नेपाल भित्रिएको विशेष सूचनाको आधारमा मल पक्राउ गरिएको जानकारी दिए । 
बरामद मल, ट्रक र चालक कृष्ण श्रेष्ठलाई सबै प्रक्रिया पुरा गरेर राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाइएको एसपी ढकालले जानकारी दिए ।
बरामद मल कसले कसरी ल्यायो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।