विराटनगर : नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङ संस्कृति संरक्षणसँगै रचनात्मक काममा अग्रसर बनेको छ ।

महासङ्घले हिन्दु महिलाहरूले मनाउने महान् पर्व तिजको अवसरमा शुभकामना आदानप्रदान, नृत्य प्रतियोगितासँगै महिलाहरूलाई माला र सजावटका सामाग्री बनाउने एक दिने तालिम प्रदान गरेको हो । 

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङ, महिला उद्यम समितिले तिजको अवसर पारेर बिहीबार विराटनगरमा महिलाहरूलाई माला र सजावटका सामाग्री बनाउने तालिम दिएको हो । 

महिलाहरूलाई आर्थिकरुपमा सबल र उद्यमी बनाउन फ्रेब्रिकबाट माला र सजावटका सामाग्री बनाउने एक दिने तालिम प्रदान गरिएको महासङ्घ मोरङका अध्यक्ष चेतन निरौलाले जानकारी दिए ।

महासङ्घले प्रत्येक वर्ष तिज पर्वको अवसरमा यस्तै रचनात्मक कार्य गर्दै आएको छ । यो वर्ष महिलाहरूलाई उद्यमी बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको अध्यक्ष निरौलाले बताए । तालिममा मोरङका सबै स्थानीय तहबाट ६५ जना महिलाहरूको सहभागिता रहेको थियो । सो तालिममा अपाङ्गता भएका परिवारका १५ जना महिला सदस्यहरूको समेत सहभागिता रहेको थियो । 

विराटनगर बरगाडी उत्तरपट्टी रहेको इन्द्रेणी पार्टी प्यालेसमा आयोजित कार्यक्रममा शुभकामना आदनप्रदन समेत गरेर तिज पर्व मनाइएको छ । तिज पर्वको अवसरमा महासङ्घमा आबद्ध उद्यमी महिलाहरूबिच शुभकामना आदानप्रदानका साथै, नृत्य तथा मनोरञ्जनात्मक कार्यक्रम समेत गरिएको महिला उद्यम समितिका अध्यक्ष सुनिता छाराहाङले जानकारी दिइन् ।

सो अवसरमा आयोजना गरिएको नृत्य प्रतियोगितामा उषा भट्टराई प्रथम, संस्कृति थापा द्वितीय र प्रस्तुति खतिवडा तृतीय भएका थिए । प्रतियोगितामा उत्कृष्ट तीन जना र माला बनाउने तालिममा उत्कृष्ट सयपत्री महिला समूहलाई नगद सहित पुरस्कृत गरिएको अध्यक्ष निरौलाले जानकारी दिए । 

प्रतियोगितामा २१ जना महिलाहरूले सहभागिता जनाएका थिए । सो अवसरमा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा कार्की, महासङ्घ प्रदेश १ की अध्यक्ष अन्जु उपाध्याय, उपाध्यक्ष लीलादेवी रिजनल, केन्द्रीय उपाध्यक्ष मुकेश उपाध्याय (शिवा), सुनसरी अध्यक्ष रविन गौतम लगायत विभिन्न सङ्घ सङ्गठनका प्रतिनिधिहरु लगायत विभिन्न पालिकाबाट सायौँ उद्यमी महिलाहरूको उपस्थिति रहेको थियो ।