धरान : धरान-८ मा एक जनाले सासूलाई खुकुरी प्रहार गरेर आफैले आफ्नो घाटीमा खुकुरीले रेटेर आत्महत्या गरेका छन् । 

भोजपुरको सानोदुम्बा-५ घर भई हाल धरान-१३ बस्दै आएका ४१ वर्षीय राम बहादुर रम्तेलले आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी बुद्ध श्रेष्ठले जनाएका छन् ।  

बिहीबार बेलुका रम्तेलले धरान-८ को गुम्बामार्गमा रहेकी ७१ वर्षीय सासू नरमाया भुजेललाई अचानक टाउकोमा खुकुरी प्रहार गरी घाइते बनाएको र त्यसपछि आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ । खुकुरी प्रहारबाट घाइते ७१ वर्षीय वृद्धको अवस्था गम्भीर रहेको र उनको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको बताइएको छ । 

घटनास्थलमा इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी टोली खटी गई घटना र मृतकको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। मृतककी श्रीमती वैदेशिक रोजगारको सिलसिलामा कुवेतमा रहेको बताइएको छ भने घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।