काठमाडौं : नेपाली कांग्रेसले आजदेखि देशैभर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्दै छ ।

सत्तारुढ आगामी ४ मंसिरको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आजदेखि २४ गतेसम्म कांग्रेले अभियान चलाउन लागेको हो । अभियानका लागि कांग्रेसले यसअघि नै अभिमुखीकरण गरेर केन्द्रीय प्रतिनिधि ७७ जिल्लामा पठाइसकेको छ ।

यो अवधिमा केन्द्रीय प्रतिनिधिले जिल्लामा गई जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति प्रतिनिधिलगायतको बैठक बोलाउने छन् । अभियानमा प्रदेश समिति र जिल्ला समितिले समेत मातहतमा प्रतिनिधि खटाउनेछन् ।

अभियानमा जनताका समस्या सुन्ने, कांग्रेस नेतृत्वको सरकारले गरेको कामको जानकारी गराउने र सत्तारुढ गठबन्धनका दलहरुबीच तालमेलको औचित्य पुष्टि गरिने कांग्रेसले जनाएको छ ।

यो अभियान सकिएपछि घरदैलोलगायत अभियान गर्ने कांग्रेसको तयारी छ। कांग्रेसले सत्ता गठबन्धनसँग मिलेर आगामी मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा जाने निर्णय गरेको थियो।