चतरा : वराहक्षेत्र नगरपालिका वडा नं ६ चक्रघट्टिमा दोस्रो संस्करणको वराहक्षेत्र गोल्डकप आयोजना हुने भएको छ। स्थानीय  कल्चरल ग्रिन क्लबको आयोजना विजयादशमीको अवसरमा असोज १० गतेदेखि १८ गते सम्म प्रतियोगिता आयोजना हुनेछ।
स्थानीय महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना हुने प्रतियोगितामा सुनसरी, मोरङ, इलाम, झापा, धनकुटा र उदयपुर जिल्लाका १० क्लबहरू सहभागी हुनेछन् । क्लबका उपाध्यक्ष दिनेश राईका अनुसार आयोजक कल्चरल ग्रिन, राजावास यूथ क्लब प्रकाशपुर, हाटखोला फुटबल क्लब चतरा, पाञ्चायन फुटबल क्लब रामधुनी, शान्तिनगर फुटबल क्लब इटहरी, रारा फुटबल क्लब राजारानी धनकुटा, रेडहर्स फुटबल क्लब इलाम, डाँगिहाट फुटबल क्लब मोरङ , लिटर किकर्स एकेडेमी झापा, उदयपुर खेलकुद क्लब उदयपुर सहभागिता रहने छ ।
२१ लाख कुल लागत अनुमान गरिएको प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ५० लाख र दोस्रो पुरस्कार १ लाख रहने छ । दैनिक खेलमा म्यान अफ द म्याच २५ सय र प्रतियोगिता भर विधागत उत्कृष्ट खेलाडीहरूलाई ५ हजार र ट्रफी प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा सिजी ग्रुपको मुस्ताङ बियर मुख्य प्रायोजन रहने छ । शुक्रवार मुख्य प्रायोजक संस्था सिजी ग्रुप र आयोजक क्लब कल्चरल ग्रिन बिच मुख्य प्रायोजकको सम्झौता भएको छ। सम्झौता पत्रमा मुख्य प्रायोजन सिजी ग्रुपका ओमकार कार्की र आयोजक कल्चरल ग्रिनका अध्यक्ष ज्ञानबहादुर गुरुङले हस्ताक्षर गरेका थिए  ।
सम्झौताको हस्ताक्षर र प्रतियोगिताबारे शुक्रवार आयोजक कल्चरल ग्रिन क्लबले पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएको थियो ।