धरान : धरान उपमहानगरपालिका वाड नं १५ नीराजन टोलका युवाहरूले खत्रीधारा  र बमधाराको मुहानमा शनिवार (कुशेऔशी) बुबाको मुख हेर्ने दिनको अवसर पारेर वृक्षारोपण गरेका छन् ।

नीराजन टोलका युवाहरूको सक्रियतामा खत्रीधारा र बमधारा खानेपानीको मुहानमा विभिन्न फलफूलहरू अमला, तेजपता, मेवा, अम्बक, आँपको गरी ५ सय बिरुवा रोपिएका छन् । उक्त बिरुवा डिभिजन वन कार्यालय तीनकुने र स्थानीयले उपलब्ध गराएका थिए । खत्रीधारा र बमधाराको पानी ४ सय घरपरिवारले खादै आइरहेको छ र पानीको मुहान संरक्षणमा स्थानीयहरू विगत देखि नै श्रमदान गर्दै र बिरुवा रोप्दै आइरहेको छ ।

बिहान ८ बजे देखि सुरु भएर दिनको १२ बजे वृक्षारोपण कार्य सकिएको थियो । पानीको मुहानमा आम्दानी दिने फलफूलको बिरुवाहरू रोप्ने योजना रहेको नीराजन टोलका अगुवा डम्बर बहादुर गुरुङले बताए । रोपेर मात्र हुँदैन बारबेर गोडमेल पनि गरेर बिरुवाहरू हुर्काउने कामको लागि नीराजन टोलका युवाहरू श्रमदान गर्ने नीराजन टोलका अगुवा  कैलाश राईले बताए । उक्त वृक्षारोपण कार्यको लागि ५० जना युवाहरूको सहभागिता थियो ।