धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त रजिस्ट्रार डा.सूर्यप्रसाद सङ्ग्रौलाले अझै आवास पाएका छैनन् । उनले आवास नपाएपछि टेन्ट टाँगेर बस्ने सम्मको तयारी गरेका थिए । प्रतिष्ठानको उपकुलपतिले साउन १८ गते सम्म पर्खिदिनुस् भनेर आफूलाई बोधार्थ दिएर पूर्व रजिस्ट्रारलाई पत्राचार गरे पछि आफूले टेन्टमा बस्ने घोषणा स्थगित गरेको कपुरी न्युजलाई बताए ।

साउन १७ गते पदस्थापन भए देखि नवनियुक्त रजिस्ट्रार सङ्ग्रौलाले सुरुका दिनहरूमा घरबाटै धाएर र पछिल्लो समय गेस्ट हाउसमा बसेर काम गर्दै आएको बताउँदै उनले भने, यत्तिका लामो समय सम्म पनि क्वाटर उपलब्ध नभए पछि टेन्ट टाँगेर भए पनि बस्ने योजनामा थिए । १८ गते सम्म पर्खिनु भनेपछि टेन्टमा बस्ने मेरो योजना स्थगित गरे । १० महिना अघि पदबाट राजीनामा दिएका पूर्वरजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले रजिस्ट्रार बस्ने आवास नछोडेपछि नवनियुक्त रजिस्ट्रार डा. सङ्ग्रौलाले अझै आवास नपाएका हुन् । 

पूर्व रजिस्ट्रारले उल्टै आफूलाई पत्र लेखेर ए श्रेणीको क्वाटर उपलब्ध गराउन माग गरेको बताउँदै नवनियुक्त रजिस्ट्रार डा. सूर्यप्रसाद सङ्ग्रौलाले भने उनको श्रीमतीले मेरो श्रीमतीलाई फोन गरेर पार्टीको कुरा गरेछन् । प्रा.डा. रेग्मीले आफूलाई अदालतले समेत पत्र पठाएको बताउँदै विशिष्ट श्रेणीको क्वाटर उपलब्ध गराउनुपर्ने माग गरेका छन् । 

लामो समय पदाधिकारी गेस्ट हाउसमा बस्दा गलत सन्देश जाने भएकोले अहिले आफू गेस्ट हाउसमा बस्न छोडेर विराटनगरस्थित घरबाट नै दैनिक रूपमा आउजाउ गरिरहेको रजिस्ट्रार डा.सङ्ग्रौलाले बताए । दिएको म्याद भदौ १८ गते सम्म विराटनगर घरैबाट धाउने र त्यस पछि भएन भने आफूले स्थगित गरेका कार्यक्रमहरू अगाडी ल्याउने डा. सङ्ग्रौलाले बताए ।