विराटनगर : प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीको सम्मान तथा बिदाइ गरिएको छ । 

सङ्घीय सरकारको कृषि मन्त्रालयमा सरुवा भएका पराजुलीको आइतबार एक कार्यक्रमको आयोजना गरी उज्ज्वल भविष्यको कामना गदै मन्त्री केदार कार्की लगायत मन्त्रालयका कर्मचारीहरूले बिदाइ गरेका हुन् । 

कार्यक्रममा बोल्दै मन्त्री कार्कीले जनताका काम गर्नका लागि सचिव पराजुलीसंगको सहकार्य सुखद रहेको बताए । शान्ति सुरक्षा, विकाश निर्माण, विपद् व्यवस्थापनको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताए । ’विपद्को वेला नागरिकलाई सुरक्षित स्थानमा सार्ने होस या राहत व्यवस्थापनको काम यसपालि हामीले कुनै ढिला गरेनौँ, मन्त्री कार्कीले भने, विपक्षीले सदनमा कुरा नउठाउँदै राहत पुगिसकेको छ, कोसीमा आएको बाढीबाट प्रभावितलाई होस या ताप्लेजुङमा पहिरो प्रभावितलाई तत्काल राहत पुर्यायौं ।’

सो अवसरमा सचिव पराजुलीले आफ्नो मन्त्रालय बसाई पनि सुखद रहेको बताए । ’मन्त्रीज्यू हरेक काममा सक्रिय भएर लाग्नुभयो, र कार्यसम्पादनमा सफलता मिल्यो । उनले भने स्थानीय तहको निर्वाचन पनि शान्तिपूर्ण ढङ्गले सम्पन्न गरेका छौँ’

सोही अवसरमा मन्त्रालयबाट सरुवा भएका महाशाखा प्रमुख ओमकार प्रसाद न्यौपाने, उपेन्द्र श्रेष्ठ तथा शाखा अधिकृतमा बढुवा भएका जीवन काफ्लेको पनि सम्मान तथा बिदाइ गरिएको थियो ।