इटहरी : नेपाली काँग्रेस इटहरी उपमहानगरपालिकाको पार्टी कार्यालयमा तालाबन्दी भएको छ । उपमहानगर समितिका उपसभापति बालकृष्ण विष्टको नेतृत्वमा पार्टी कार्यालय तालाबन्दी भएको हो । 
गत शनिवार देखी नेपाली काँग्रेसले जनताको साथमा काँग्रेस अभियान सुरु गरेको छ । त्यही बिचमा इटहरी उपमहानगरको पार्टी कार्यालय तालाबन्दी भएको हो । चुनाव केन्द्रित तयारी सुरु गरेको काँग्रेसले जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएर अभियान अगाडी बढाइरहेको छ । 
सुनसरीका २ र ३ नम्बर क्षेत्रमा पर्ने इटहरीको पार्टी कार्यालय तालाबन्दी भएपछि चुनावी अभियान प्रभावित हुने देखिएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा नभएको र नियमित बैठक नबसेको भन्दै तालाबन्दी गरिएको उपसभापति विष्टले जानकारी दिए । 
पार्टी नेतृत्वले आफ्ना कुराहरू गम्भीर रूपमा नलिएको कारण यो अवस्था सृजना भएको उनले बताए । नेतृत्वले चुनावी अभियानलाई ध्यानमा राखेर वार्ताको माध्यमबाट ताला खोल्ने वातावरण सृजना गर्नुपर्ने उनको अडान छ ।  २० वटै वडाका नेता, कार्यकर्ताहरूलाई बोलाएर समीक्षा बैठक राख्नुपर्ने तर निर्वाचन भएको चार महिना बित्न लाग्दा पनि नेतृत्वले वास्ता नगरेको उनको भनाई छ । 
उपमहानगर सभापति हेमकर्ण पौडेल मेयरमा निर्वाचित भएसँगै उपसभापति कोविदजंग कार्कीलाई कार्यवाहकको जिम्मेवारी दिएका छन् । उनै कार्कीले गत असार २ गते रिक्त रहेको कोषाध्यक्ष पदमा सुशीला चौधरीलाई नियुक्त गरेका थिए । त्यसैको विरुद्धमा विधान विपरीत नियुक्ति भएको भन्दै विष्ट समूहले विरोध जनाउँदै आएको छ । एक महिना अगाडी समूहको भेला नै बेलाएर मेयर तथा सभापति पौडेलले आफूहरूलाई बेवास्ता गरेको विष्ट समूहले निष्कर्ष निकालेको थियो । 
विष्ट समूहमै रहेका उपमहानगर सचिव मन्दीप भट्टराई सभापतिले चासो नदिएको कारण सबै समस्या सृजना भएको बताउँछन् । सभापति मेयर भएपछि पेलेरै जाने मनसायमा रहेको र मेयरकै रणनीति अनुसार अहिलेको अवस्था आएको उनको बुझाई छ । कोषाध्यक्ष नियुक्ति लगायत विषयमा आफूहरू सँग परामर्श नभएको र विधान मिच्ने काम भएको उनले जानकारी दिए । 
उता कार्यवाहक सभापति कार्कीले भने आफ्नो नेतृत्व स्वीकार गर्न नसक्नेहरू अत्तालिएको प्रतिक्रिया दिए । सभापति फरक टिमको भएर पनि टिकट पाएर मेयरमा विजयी भएको पार्टीकै साथीहरूलाई मन नपरेको उनले बताए ।  भूमिहीन सुकुम्वासीको समस्या समाधान गर्ने भनेर वडाबाट एकाएक र नगरमा एक जना प्रतिनिधि पठाउन आयोगले परिपत्र गरेको र आफूले सबैसँग समन्वय गरेर प्रतिनिधि पठाएको उनले प्रस्ट पारे । पार्टी कार्यालयमा तालाबन्दी गरेर समस्या समाधान नहुने भन्दै उनले समन्वय र सहकार्यको लागि तयार रहन आग्रह गरेका छन् ।