झापा : बुद्धशान्ति गाउँपालिका स्थित तरुण दलले मेची राजमार्गमा सवारी दुर्घटना न्यूनीकरण गर्न विभिन्न स्थानमा होर्डिङ बोर्ड र ट्राफिक सङ्केत राखिदिने यसै सातादेखि अभियान सुरु गरेको छ । 
तरुण दलका बुद्धशान्ति गाउँपालिका सचिव अर्जुन मेन्याङ्कोका अनुसार बुद्धशान्ति गाउँपालिका भएर इलाम जाने मेची राजमार्गमा बर्षेनी सवारी दुर्घटना भएर मानिसको मृत्यु हुने र दर्जनौँ अपाङ्ग भएकाले विभिन्न स्थानमा ट्राफिक सङ्केत राखिएको हो । सचिव मेन्याङ्बोले भने, ‘हामीले मेची राजमार्ग अन्तर्गत राष्ट्रिय मावि, बर्ने मावि लगायत अन्य चार स्थानमा जेब्रा क्रसिङ निर्माण गरिदिएका छौँ । यस्तै आवश्यक स्थानमा सवारी चालक, पैदल यात्रुका लागि भनेर १० स्थानमा ट्राफिक सङ्केत भएको ठूलाठूला होर्डिङ बोर्ड पनि लगाउने तयारी गरेका छौँ ।’ 
उनका अनुसार ट्राफिक नियममा जेब्रा क्रसिङ भएको स्थानमा पैदल यात्री हिँडिरहेको अवस्थामा जुनसुकै सवारी साधन रोक्नु पर्छ । पैदल यात्रीले जेब्रा क्रसिङ पार गरेपछि मात्र सवारी साधन चलाउनु पर्छ । यस्ता ट्राफिक नियम पालना हुन सके सवारी दुर्घटनामा परी मानिसले ज्यान गुमाउनु नपर्ने सचिव मेन्याङ्बोले बताए ।
उनका अनुसार आर्थिक वर्ष ०७८/०७९ मा बुद्धशान्ति गाउँपालिका भएर जाने मेची राजमार्गमा मात्र ९५ सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी ४ जनाको मृत्यु भइसकेको छ । तरुण दलले जिल्ला ट्राफिक कार्यालय, स्थानीय तहसँग समन्वय गरेर गाउँपालिका क्षेत्र भएर जाने मेची राजमार्गमा ट्राफिक सङ्केत निर्माण र होडिङ बोर्ड राखिदिएको हो । 
tarundal-buddhasanti