धरान : धरानको निशाने खोला दोभानमा खानेपानीको रिजर्भ ट्याङ्कीको पिसिसी ढलाई सकिएको छ ।  

गोर्खा पिस फाउन्डेसन युके र हर्क साम्पाङ सहयोग अभियान युकेको सहयोगमा निर्माण भइरहेको खानेपानीको रिजर्भ ट्याङ्की तीन महिना भित्रमा निर्माण सम्पन्न गरेर धरान उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने गरी काम भइरहेको गोर्खा पिस फाउन्डेसनको तर्फबाट सुपरभाइजर ललितचन्द्र राईले बताए । २ लाख ५० हजार लिटर क्षमताको ट्याङ्की बनाउने भनिए पनि प्राविधिक कारणले गर्दा निर्माणको क्रममा २ लाख १० हजार लिटर भन्दा बढीको ट्याङ्की बन्ने क्रममा रहेको प्रोजेक्ट मेनेजर पूर्णप्रसाद लिम्बूले बताए ।  

ट्याङ्की निर्माणको कुल लागत स्टिमेट ५५ लाख ९० हजार २ सय ३३ रुपैयाँ अनुमान गरिएको छ । धरान उपमहानगरपालिका र खानेपानी बोर्डबाट जनश्रमदान ७ लाख ४७ हजार ७ सय रुपैयाँ बराबरको हुने बताइएको छ । सहयोग र जनश्रमदान गरी कुल हिसाब गर्दा ट्याङ्की निर्माणमा ६३ लाख ३६ हजार ९ सय ३६ रुपैयाँ बराबरको हुनेछ । 

तोकिएको डेटलाईन अनुसार काम सम्पन्न हुनेमा आफू विश्वस्त भएको सुपरभाइजर ललितचन्द्र राईले बताए । हरेक दिनको श्रमदान र माल म्याटेरियल झराउन पनि निर्माणस्थल सम्मै सवारी आइपुग्ने भएकोले सजिलो भएको छ । 

१० इन्चे पाइप फुस्रे कट्यो :

Pipeनिशाने दोभानबाट १० इन्चको खानेपानीको पाइप अहिले फुस्रे बजार पश्चिम राईटोल नजिक पुर्‍याइएको छ । 

खानेपानीको ट्याङ्की निर्माण हुन अगाडी नै स्वस्तिका चौकको खानेपानीको ट्याङ्कीमा पानी पुर्‍याउने योजना अनुसार अहिले पाइप द्रुत गतिमा तान्ने, गाँस्ने र टाङ्ने काम भइरहेको प्रोजेक्ट मेनेजर दत्तकुमार लिम्बूले बताए । फुस्रे देखि पश्चिममा पाइप जडान र तान्न केही सजिलो भए पनि राई टोलको पश्चिम क्षेत्रमा पाइप ह्याङगिङ गर्ने ठाउँ समेत नभएको खानेपानी अभियानमा निरन्तर खटिरहेका तर्कबहादुर मगरले बताए ।

तर जसो तसो २५ दिन भित्रमा १० इन्चे पाइप जडान गरेर स्वस्तिका चौक पुर्‍याउने योजनाका साथ काम भइरहेको मगरको भनाई छ । सर्दु खोलाको पूर्वी किनारा हुँदै जानकी चौकबाट सडकको फुटपाथमा अन्डरग्राउन्ड गरेर स्वस्तिका चौक पुर्‍याइने खानेपानी बोर्डका निर्देशक इन्जिनियर राजु पोखरेलले बताए । सर्दु, खर्दु र निशाने खोलाको पानीले धरान १०, १२, ११, १७, १८ र १९ वडामा राहत पुग्ने बताइएको छ । 

रिजर्भ ट्याङ्की बन्नु भन्दा पहिले स्वस्तिका चौक पानी पुर्‍याइने : 

Paniनिशाने खोलाको दोभानमा अहिले धमाधम खानेपानीको रिजर्भ ट्याङ्की बनीरहेको छ । रिजर्भ ट्याङ्की निर्माण सम्पन्न हुन अझै कम्तीमा पनि अढाई महिना बढी लाग्ने छ। तर निशाने खोलाको दोभानमा सर्दु, खर्दु र निशाने खोलाको पानी भने पाइपबाट ल्याईपुर्‍याइएको छ ।

त्यो पानी सिधै १० इन्चे पाइपमा जडान गरेर ट्याङ्की निर्माण सम्पन्न नगरी स्वस्तिका चौक पठाइने खानेपानी बोर्डका निर्देशक इन्जिनियर राजु पोखरेलले बताए । ट्याङ्की निर्माण सम्पन्न भएर हस्तान्तरण पनि सबै पानी ट्याङ्कीमा जम्मा हुन्छ अनि मात्रै ट्याङ्कीबाट पानी १० इन्चे पाइपमा पठाइनेछ ।