धरान : सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनको लागि जनता समाजवादी पार्टीका अशोक राईको नाम सिफारिस भएको छ । मङ्सिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा जसपाले राईको नाम सिफारिस गरेको हो । 
जसपा क्षेत्रीय समितिको मंगलबार बसेको बैठकले आगामी चुनावका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फका लागि उम्मेदवारको नाम प्रस्ताव गरेको छ । जसपा धरान उपमहानगर उपाध्यक्ष हेमराज जिमी याक्खाका अनुसार प्रतिनिधिसभामा राई सहित दीपक मेयाङ्बो र भीम राईको नाम सिफारिसमा परेको छ। 
अशोक राईको नाम यस अघि खोटाङ जिल्लाबाट समेत प्रस्तावमा परेको छ । २०७४ को निर्वाचनमा राईले सुनसरी १ बाट नै उम्मेदवारी दिएका थिए । 
राईकै कारण नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) सहितको गठबन्धनमा रहेको जसपाले सुनसरी १ दाबी गरेको छ । नेकपा एमालेको प्रभावशाली क्षेत्र रहेको सुनसरी १ मा पूर्व एमाले समेत रहेका अशोक राईलाई जसपाले उम्मेदवार बनाउने तयारी थालेको हो । 
सुनसरी १ मा काँग्रेसले खासै चासो दिएको छैन । काँग्रेस बाहेक माओवादी केन्द्र र नेकपा एसले भने आफूले उम्मेदवार पाउनुपर्ने दाबी गर्दै आएका छन् । गठबन्धनमा आबद्ध दलहरूको समर्थन पाए सुनसरी १ मा जसपाले एमालेलाई पराजित गर्ने रणनीति बनाएको छ । 
प्रदेशसभा तर्फ सुनसरी १ (क) मा प्रत्यक्षतर्फ नगेन्द्र लिम्बु, सुमित्रा राई र कृष्ण लिम्बुको नाम प्रस्ताव गरिएको छ । समानुपातिकतर्फ दुर्गामाया लिम्बु, दीपक मेयाङ्बो, भीम राई, नरेश बिक, बलबहादुर मगर (क्षितिज) को नाम प्रस्ताव गरिएको छ ।
त्यसैगरी १ (ख) बाट प्रत्यक्षतर्फ सन्देश राई, लीला राई, मोहन राई, प्रदीप कार्की, हेमराज याक्खाको नाम प्रस्ताव गरिएको छ । समानुपातिकतर्फ बिना पुमा राई, एसा सुनुवार, शशिकुमार बिक, विपिन इवारम, तेन्जिङ शेर्पा, गोविन्द प्रसाद राई, मणि राई, सिता राईको प्रस्ताव गरिएको छ ।