धरान : सुनसरीको वराहक्षेत्र नगरपालिकाको बाङ्गेमा सुनसरी मोरङको सिचाई आयोजनाको नहरमा डुबेर दुई जनाको मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार बिहीबार दिउसो नुहाउन गएका ४ जना मध्ये दुई जना नहरमा डुबेका थिए । मृत्यु हुनेमा वराहक्षेत्र नगरपालिका-३ खोरिया बस्ने एकै परिवारका दुई जना रहेको बताइएको छ । नुहाउन नहरमा पसेका चार जना मध्ये १४ वर्षीय सलिना खड्का र ३६ वर्षीय शोभा खड्काको डुबेर मृत्यु भएको हो ।

नहरमा डुबेका दुई जना मध्ये शोभा खडकाको तत्कालै उद्धार गरिएको थियो । उनको उपचारको क्रममा विजयपुर हस्पिटल धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का डुबेका शलिना भने नहरमा डुबेर बेपत्ता भएका थिए । बेपत्ता भएको ठाउँबाट करिब तीन सय मिटर तल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

उनीहरूसँगै नुहाउन पसेका २३ वर्षीय सोनु खड्का र १४ वर्षीय इशा खड्का भने सकुशल रहेका छन् ।