झापा : झापाको दमक नगरकी उपमेयर रेगिना भट्टराईले दमक-४ स्थित नापी कार्यालय छेउबाट बिहीबार एक बेवारिसे महिलाको उद्धार गरेकी छन् ।

करिब महिना दिन अघि देखी दमकको नापी कार्यालय अगाडि बेवारिसे अवस्थामा बस्दै आएकी महिलाको उद्धार गरिएको हो । 

सुस्त मनस्थितिकी महिला बेवारिसे अवस्थामा बसिरहेको भन्दै स्थानीयले खबर गरेपछि पुगेका उपमेयर भट्टराईले ती महिलालाई उद्धार गरी दमक-३ मा रहेको सेफ हाउसमा पुराएकी हुन् । करिब महिना दिन अघि देखी ती महिला नापी कार्यालयको अगाडी बस्दै आएको स्थानिय मञ्जु भण्डारीले बताए ।

बेवारिसे रूपमा रहेको देखे पछि आफूहरूले खाना दिने गरेको उनले बताइन् । रातिको समयमा खुल्ला ठाउँमा महिला एक्लै बस्दा जोखिम हुने भन्दै महिलाको उद्धार भए पछि आफूहरूलाई पनि ढुक्क भएको स्थानीयले बताए । 

साँझ साढे ७ बजे तिर आफू पुग्दा नेपाली भाषा पनि बोल्न नसक्ने ती महिलालाई एक्लै बसिरहेको अवस्थामा उद्धार गरेको उपमेयर भट्टराईले बताइन् । अहिलेलाई दमक नगरपालिकाले सञ्चालन गरिरहेको सेफ हाउसमा राखिएको र कोही आफन्त आए जिम्मा लगाइने बताइएको छ ।