धरान : धरान उपमहानगरपालिकाको पछिल्लो कार्यपालिका बैठकबाट भएको निर्णय अनुसार धरानमा अव देखि घर नक्सा पास अनलाइनबाटै हुने भएको छ । 

भदौ १५ गते देखि लागु गर्ने गरी कार्यपालिका बैठकबाट भएको निर्णय अनुसार काठमाडौँ महानगरपालिका पछि उपत्यका बाहिर बुटवल र धरान उपमहानगरपालिकामा विद्युतिय घर नक्सा पास प्रणाली सञ्चालनमा आएको हो ।

सोही अनुसार अहिले धरानमा पनि घर नक्सा पास अनलाइनबाटै हुन थालेको धरान उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठले जानकारी दिए । पहिले काठमाण्डौमा मात्रै लागु थियो । इलेकट्रोनिक बिल्डिङ परमिट सिस्टम (इभिपिएस) कार्यान्वयनमा आए पछि अनलाइनबाटै घर नक्सा पास गर्ने कार्यको धरानमा पनि सुरु भएको हो । 

धरानमा पहिलो पटक धरान–११ निवासी देवराज पोखरेललाई डिजिटल घर नक्सा पासको प्रमाणपत्र धरान उपमहानगरपालिकाले वितरण गरेको जनाउँदै इन्जिनियर श्रेष्ठले भने–ईभीपिएस सफ्टवेयर प्रयोग गरी सेवाग्राहीले आफ्नो निवेदन र इन्जिनियरले बनाएको घर नक्साको डिजाइन अनलाइनमार्फत नक्सा शाखामा पठाउन सक्नेछन् ।

त्यसपछि उपमहानगरले अनलाइनबाटै निवेदन स्वीकृत गर्नेछ । यसबारेमा केही प्राविधिक समस्या थियो, बिहीबार बैठक बसी यो समस्या समाधान भइसकेको इन्जिनियर श्रेष्ठले बताए । यो प्रणाली अनुसार घर नक्सा दर्ता देखि सम्पन्न भएको प्रमाणपत्र दिने जस्ता सम्पूर्ण काम अनलाइनबाटै हुने छ । यसले सेवा प्रवाहमा हुने ढिलासुस्ती, बहानाबाजी र फाइल हराउने जस्ता समस्यालाई निरुत्साहित गराउने दाबी गरिएको छ ।