धरान : जनसङ्ख्याको आधारमा धरान उपमहानगरपालिकाको सबै भन्दा जेठो १५ नंं वडाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । एक वर्षमा एक करोड ३९ लाख ७ हजार ९४५ रुपैयाँ आम्दानी गरेको छ । 

जनताको सेवा र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर वडाले गत असारसम्म साढे २ किमी सडक कालोपत्रे गरेको छ । २.२ किमी सडकको स्तरोन्नति गरेको छ । त्यस्तै १ किमी सडकमा ढलाई र टायल लगाएको छ । कार्यालयले सबै भन्दा धेरै नागरिकताको सिफारिस गरेको छ । एक हजार १६३ वटा नागरिकता सिफारिस गरेको छ । घर बाटो सिफारिस, ७ सय ९०, नाता प्रमाणित २०९, व्यक्तिगत घटना दर्ता एक हजार २५८ वटा र सम्बन्ध विच्छेदको घटना ४४ वटा गरेको वडा कार्यालयले जनाएको छ । 

यस्तै आम्दानीको मुख्य श्रोत सम्पत्ति कर, मालपोत, व्यवसाय कर घर बहाल कर र सिफारिस गरेर २३ हजार ५६८ सङ्ख्यामा काम गरेको छ । वडाध्यक्ष नरेश इवारामका अनुसार गत आर्थिक वर्षमा १ करोड ३९ लाख राजस्व सङ्कलन गरेको छ । १५ नं. वडामा घर बहाल कर, व्यवसायी कर र घर जग्गा सिफारिसबाट सबै भन्दा धेरै आम्दानी भएको छ । सबै भन्दा धेरै आन्तरिक राजस्व सङ्कलन गर्ने वडा १५ नं. वडा भएको उपमहानगरले जनाएको छ ।  

वडाका चालु स्वीकृत योजना ५९ मध्ये ५० वटा योजनाहरू सम्पन्न गरेको वडाध्यक्ष इवारामले जानकारी दिए । ती सबै योजनाहरू उपभोक्ता समिति मार्फत सम्पन्न भएका छन् ।  

बालबालिका लक्षित १५ वटा कार्यक्रम मध्ये ९ वटा मात्र सम्पन्न गरेको छ । महिला लक्षित ७ वटा कार्यक्रम सम्पन्न गरेको छ ।  आन्तरिक श्रोतको बजेट निकास उपमहानगरले गर्न नसक्दा ८ वटा योजनाहरूको ३१ लख भुक्तानी अघिल्लो वर्षको दायित्व यस वर्ष सरेको वडा कार्यालयका लेखा अधिकृत गौरी रायले जानकारी दिए । कार्यालयले प्रशासनिक खर्च १३ लाख ५८ हजार ५६४ रुपैयाँ गरेको छ । आन्तरिक राजस्व सङ्कलन र योजना सम्पन्न गर्ने सबै वडा भन्दा १५ नम्बर वडा अगाडी देखिएको छ । 

आन्तरिक श्रोतको बजेट उपमहानगरले समयमा दिन नसके पछि गत वर्ष उल्लेख्य काम भएको वडाध्यक्ष इवारामले बताए । वडाध्यक्ष इवारामका अनुसार वडाले आर्थिक वर्ष २०७९/०८० का लागि पूर्वाधार विकास र सामाजिक विकासलाई प्राथमिकतामा राखेर योजना अघि बढाएको छ । उपमहानगरले यस वर्षका लागि २ करोड ९२ लाख १२ हजार बजेट छुट्टाएको छ ।

त्यस मध्ये पूर्वाधार विकासमा सबै भन्दा धेरै २ करोड १४ लाख २३ हजार ५ सय विनियोजन गरेको छ । यस्तै सामाजिक विकासमा ४७ लाख २८ हजार ६०० विनियोजन गरेको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि २० लाख ९ हजार ९०० छुट्टाएको लेखा अधिकृत रायले बताए । योजनाहरू समय मै सम्पन्न गर्ने लक्ष्य सहित वडाले चालु आर्थिक वर्षका योजना तथा कार्यक्रमको उपभोक्ता समिति गठन प्रक्रियाका लागि सम्पर्क गर्न यही असोज १५ गतेसम्म मिति तोकिएको छ । 

एक लाख ७३ हजार ९६ जनसङ्ख्या भएको धरान उपमहानगरको वडा नं. १५ मा मात्र झन्डै ३० हजार जनसङ्ख्या रहेको छ । यो सङ्ख्या एउटा गाउँपालिकाको भन्दा बढी हुन आउँछ ।  एक लाख ३ सय २४ मतदाता भएको धरान १५ मा मात्र १४ हजार ९०६ मतदाता रहेका छन् भने ५ हजार  ४ सय भन्दा बढी घरधुरी सङ्ख्या रहेको उपमहानगरपालिकाको तथ्याङ्कमा उल्लेख छ । 

पाँच वर्षमा २६ करोड बजेट वडामा सदुपयोग  

पाँच वर्षको अवधिमा सङ्घ, प्रदेश, नगर र विभिन्न दातृ निकायबाट आएको २६ करोड ९७ लाख बजेट १५ नं. वडाको विकासमा खर्चिएको वडाध्यक्ष इवारामले बताएका छन् । ‘प्रदेश, सङ्घ, नगरबाट राम्रै सहयोग भयो । सबै पार्टी, समुदायसँगको सहकार्यमा १५ नं. वडामा उल्लेख्य विकास भएको वडाध्यक्ष इवारामले भने । पाँच वर्षको अवधिमा ४ वटा सामुदायिक विद्यालयहरूको भवन निर्माण, स्तारोन्नती, शौचालय र खानेपानीको व्यवस्थापन भएको छ ।

ज्ञानचक्षु पूर्वाञ्चल विद्यालयमा ५० वटा कम्प्युटर प्राप्त भएका छन् । १५ नं. वडामा रहेका ७ सय वटा साना ठुला सडक मध्ये १७६ वटा सडक कालो पत्रे भएको छ । ४५ वटा सडकमा ड्रेन निर्माणका काम भएका छन् ।  १२८७ जना सुकुम्वासीले घर नं. पाएका छन् । ९० प्रतिशत भन्दा बढी नयाँ खानेपानीको धारा जडान गरिएको छ ।