धरान : उदयपुरको बेलका नगरपालिका-७ गोधाटारमा एकै परिवारको तीन जनाको हत्या भएको छ । 

स्थानीय ४० वर्षीय नरबहादुर बस्नेतले नाताले भाइ पर्ने ३७ वर्षीय राजकुमार बस्नेत, बुहारी ३० वर्षिया सरिता बस्नेत र भतिज १३ वर्षीय सुजन बस्नेतको खुकुरी प्रहारगरी हत्या गरेको एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए । 

शुक्रवार बिहान खेतमा गएका भाइ राजकुमारलाई चौबाटे कुलोमा काटेको र बुहारी र भतिजलाई खेती नजिकको वविङ खोलामा काटेका थिए । खुकुरी प्रहारबाट तीनैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । 

साबिकको मैनामैनी गाविसको ३ नम्बर वडा र हाल बेलका नगरपालिकाको वडा नं. ७ मा भएको घटनास्थलमा पूर्वपश्चिम सडक खण्डबाट करिब ३२ किलो मिटर टाढा रहेको इलाका प्रहरी कार्यालय बेलकाले जनाएको छ ।

विकट पहाडी क्षेत्रमा शुक्रवार बिहान हत्या भएको घटना पश्चात् प्रहरीले चारै तिर सिल गरेपछि घटनामा संलग्न नरबहादुर बस्नेतलाई साधा पोसाकमा खटिएका प्रहरीले बेलका-६ बाट पक्राउ गरेको थियो । उनले हत्या स्वीकारेको र पुरानो रिसइबीको कारण आफूले हत्या गरेको बताएको प्रहरी स्रोतले बताएको छ । 

घटनास्थलबाट शवको मुचुल्का उठाई शुक्रवार राति अबेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा पठाइएको प्रहरी उपरीक्षक नविनराज राईले बताए । हत्यामा संलग्न भएको भनिएका बस्नेतलाई जिल्ला प्रहरी कार्यालय उदयपुर लगिएको छ ।