सुनसरी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना नेता तथा कार्यकर्तालाई गँड्यौला जस्तो छुने बित्तिकै लल्याकलुलुक नभई सर्प जस्तो डस्ने खालको हुन निर्देशन दिएका छन् । आज (शनिवार) सुनसरीको चुनावी क्षेत्र नम्बर ३ मा बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आगामी चुनावमा चनाखो भएर खट्न निर्देशन दिएका हुन् । 
उनले विगतका चुनावमा सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी उम्मेदवार भगवती चौधरीले दुई पटक सम्म मत परिणामले जिते पनि राज्यले प्रहरी प्रशासन लगाएर, बक्सा साटेर हराएको छ । अध्यक्ष ओलीले भने "आगामी चुनावमा फेरी त्यस्ता घटना दोहोरिन सक्छन् । तसर्थ तपाईँहरू चनाखो हुनुहोस् ।"  
आगामी चुनावमा प्रहरी प्रशासन, राज्यका संवैधानिक अङ्ग तथा कुनै पनि निकायले त्यस्तो कार्य नगर्न पनि ओलीले आग्रह गरे । 
उनले आगामी चुनावमा सङ्घ तथा प्रदेशका नेकपा एमालेको बहुमत आउने दाबी गरे । अहिलेको पाँच दलीय गठबन्धन सरकारले देशलाई कङ्गाल बनाएको भन्दै पुरानै लयमा फर्काउन तथा देशलाई समृद्धको यात्रामा अघि बढाउन एमाले सरकारको खाँचो रहेको तर्क गरे ।
देशमा विकासका लहरहरू चलाइरहेका बेला वर्तमान सरकारले सबै विकास रोकेर विकास विरोधी कार्य गरेको आरोप लगाए । हाम्रो सरकारले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक निर्माण लगायतका विकासका काम गरिरहेको थियो । उनले भने'अहिले गठबन्धनको सरकार आउनासाथ ती काम हराए । देश आर्थिक अवस्थामा कङ्गाल भएको छ ।' 
यस्तै कार्यक्रममा बोल्दै नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सह-इन्चार्ज भगवती चौधरीले  सुनसरी  क्षेत्र नम्बर ३ अत्यन्त संवेदनशील र महँगो क्षेत्र भएको बताइन् । उनले राज्य संयन्त्र लागेकै कारण आफूले दुई पटक सम्म हार बेहोर्नु परेको दाबी गरिन् । 
उनले भनिन् ‘सुनसरीको ३ नम्बर क्षेत्र देशकै उच्च संवेदनशील, खर्चालु र महँगो क्षेत्र बनेको छ, किन यस्तो हुन गयो यो नेतृत्वले जवाफ दिनुपर्छ,’ 'यहाँका जनता यही कारणले गर्दा निक्कै पिल्सिएका छन् ।,' एक खालका व्यक्तिको दबदबाले गर्दा नागरिक निक्कै पीडित भएका छन् । चौधरीले भनिन् 'यो क्षेत्रमा चुनाव जित्दाजित्दै पनि हारिन्छ, अदालतसम्म गएको मुद्दा फैसला हुँदैन, नेता र अध्यक्षले यो विषय ध्यान दिनु पर्दैन ?'
चौधरीले निर्वाचन आयोगको निष्पक्षता माथि समेत प्रश्न गरेकी छिन् । उनले पार्टी अध्यक्ष ओली समक्ष पार्टीको तर्फबाट आयोगलाई ध्यानाकर्षण गर्न समेत आग्रह गरेकी छिन् । 
कार्यक्रममा नेकपा एमालेका नेता तथा पूर्व मुख्यमन्त्री भीम आचार्य, प्रदेश इन्चार्ज देवराज घिमिरे लगायतका  केन्द्रीय सदस्य तथा प्रदेश सदस्यहरू कार्यक्रममा सहभागी थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एक हजार भन्दा बढी कार्यकर्ता नेकपा एमालेमा आएको दाबी छ ।