धरान : सुनसरी र खोटाङमा भएका छुट्टाछुट्टै घटनामा शनिवार तीन जनाको मृत्यु भएको छ । 

सुनसरीको दुहबी नगरपालिका-७ भलुवा चोकमा शनिवार सिटी सफारीले ठक्कर दिँदा स्थानीय ५ बर्षीया बालिकाको मृत्यु भएको छ । दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको प्र०१-०२००२ ह ८४९८ नम्बरको सिटी सफारीले बाटो क्रस गर्दै गरेकी स्थानीय महेन्द्र पासवानको ५ बर्षीया छोरी आषिका कुमारी ऋषिदेवलाई ठक्कर दिँदा घाइते भएकी बालिकाको उपचारको क्रममा बिराटनर्सिंङ होम विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

यसैगरी सुनसरी र खोटाङको दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । 

सुनसरीको दुहबी नगरपालिका-८ का ५० वर्षीय दीपक मगर भनिने चन्द्र थापामगर आफ्नै घरको छतमा छत सफा गर्ने क्रममा अचानक करेन्ट लागेर घाइते भई उपचारको लागी टिचिङ अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । 

यसैगरी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० का ३५ वर्षीय प्रकाश राईको पनि करेन्ट लागेर मृत्यु भएको छ । शनिवार बेलुका म्याखम खोला हाइड्रोपावरको पोलमा जम्पर जोड्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका राईको उपचारको क्रममा फेम्ली केयर अस्पताल दिक्तेलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । दुवै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।