इटहरी : नेपाली काँग्रेस सुनसरी जिल्ला कार्यसमितिले सुनसरी ३ बाट विजय कुमार गच्छदार र ४ बाट ज्ञानेन्द्र बहादुर कार्कीको नाम सर्वसम्मत सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको आइतबार बसेको बैठकले केन्द्रीय सदस्य द्वयको नाम सर्वसम्मतिले सिफारिस गरेको हो । 
त्यस्तै सुनसरी क्षेत्र नम्बर १ बाट ५ र २ बाट ३ जनाको नाम सिफारिस भएको छ । सुनसरी १ गठबन्धनमा नेकपा माओवादी केन्द्र वा जनता समाजवादीको भागमा पर्ने आङ्कलनका बिच ५ जनाले दावेदारी प्रस्तुत गरेका हुन् । जसमा केन्द्रीय सदस्यद्वय लक्ष्मी खतिवडा र मीन बहादुर विश्वकर्मा रहेका छन् । त्यस्तै प्रदेश १ महामन्त्री उमेश थापा सहित चन्द्र प्रसाद श्रेष्ठ र मिना सुब्बाको नाम सिफारिसमा परेको छ । 
२ नम्बर क्षेत्रमा प्रदेश १ संसदीय दलका नेता तथा केन्द्रीय सदस्य राजीव कोइराला, र केन्द्रीय सदस्य राजीव ढुङ्गाना र वर्तमान प्रतिनिधिसभा सदस्य सिताराम मेहताको नाम सिफारिसमा परेको छ । सुनसरी २ मा प्रदेश माओवादी वा नेकपा (एकीकृत समाजवादी) लाई दिएर प्रतिनिधिसभामा काँग्रेसले उम्मेदवार पाउने आङ्कलन गरिएको छ ।  
२०४८ साल देखी निरन्तर विजयी हुँदै आएका गच्छदार अन्तिम पटक चुनावी तयारीमा छन् । ललिता निवास प्रकरणका आरोपी रहेका उनी मुद्दा किनारा नलागे सम्म शपथ ग्रहण गर्नबाट वञ्चित हुने देखिएको छ । तथापि निर्वाचन लड्ने उनको योजना मुताबिक काँग्रेसको क्षेत्र र जिल्लाले नाम सिफारिस गरेको हो । 
उता २०७४ सालमा पहिलो पटक सुनसरी ४ बाट प्रत्यक्ष चुनाव जितेका कार्कीको नाम पनि एकल सिफारिसमा परेको छ । बहालवाल अर्थमन्त्री भएको बखत चुनाव लडेका उनी यस पटक पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रीको हैसियतमा चुनावी दौडमा छन् । कार्कीले सुरुवात देखिनै आफ्नो क्षेत्रलाई प्राथमिकतामा राखेका चुनावी गतिविधि बढाइरहेका छन् ।