धरान : धरान उपमहानगरपालिकाको नगर प्रहरीले अव देखि धरानको सुरक्षा संवेदनशील क्षेत्रहरूमा ड्रोनबाट निगरानी गर्ने भएको छ । 

विशेष गरी अहिले धरानको सर्दु, खर्दु र निशाने खोलामा भइरहेको अभियान अन्तर्गत भएको बृक्षरोपण, खानेपानीको मुहानको निगरानी गर्न धरान उपमहानगरपालिकाले ड्रोन खरिद गरेको धरानका मेयर हर्क साम्पाङले बताए । केही दिन अघि खरिद गरिएको ड्रोनको आइतबार सर्दु खोला क्षेत्रमा नगर प्रहरी प्रमुख विष्णु कोइराला, नगरपालिकाका प्राविधिक र मेयर हर्क साम्पाङले परीक्षण उडान गरेका थिए । 

भौगोलिक विकटता भएको स्थानहरूमा सुरक्षाकर्मीले नियमित हिँडेर त्यहाँको अवस्था बुझ्नु भन्दा ड्रोनबाट हेरेर सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गर्ने गरी धरान उपमहानगरपालिकाले तयारी थालेको बताइएको छ । सर्दु, खर्दु, निशाने र पकुवा खोला क्षेत्रका साथै धरानका अरू भौगोलिक हिसाबले विकटता रहेका क्षेत्रहरूमा हुने विकृति र विसङ्गतिको निरीक्षण अव देखि नगर प्रहरीले ड्रोनबाट गर्ने भएको छ ।

फाईभ के प्रविधिको क्यामेरा रहेको सो ड्रोन २ लाख ३६ हजारमा खरिद गरिएको हो । ड्रोन उडाउनका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति समेत लिइसकेकोले अव देखि हरेक दिन आवश्यकता अनुसार ड्रोन उडाएर सुरक्षाको अवस्था बुझिने धरान उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले बताए । 

धरान उपमहानगरपालिकाको छतबाट धरान बजार क्षेत्रको निगरानी हुने र बाँकी कुनै निश्चित क्षेत्रमा पुगेर ड्रोन मार्फत निगरानी गरिने बताइएको छ ।