झापा : झापाको दमक नगरपालिका वडा नम्बर १० मा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको जग्गा व्यवस्थापनका लागि सोमबारबाट जग्गाको नाप जाँच कार्य सुरु भएको छ । 

वडा नम्बर १० का भूमिहीन दलित १३, भूमिहीन सुकुम्वासी १६० र अव्यवस्थित बसोबासीहरु ३६६ गरी ५ सय ३९ जनालाई यस अघि जग्गाको निस्सा वितरण गरिएको थियो । 

उनीहरूको जग्गा दाबीमा नियम अनुसार सूचना निकाल्दा कसैबाट पनि दाबी विरोध नपरेकाले वडा सहजीकरण समितिले नगरपालिकामा सिफारिस गरेको वडा अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिए ।

वडा सहजीकरण समितिबाट सिफारिस भई आएकाहरूको नगर सहजीकरण समितिले सिफारिस गरेर भूमि आयोगमा बुझाएको राष्ट्रिय भूमि अयोग दमक सेवा केन्द्र प्रमुख डम्बर बरालले जानकारी दिए ।

सोमबार वडा नम्बर १० नलबारी क्षेत्रका जग्गाको ब्लक निकाल्ने र कित्ताकाट गर्ने काम सुरु गरिएको उनले बताए । अब कित्ताकाट गरी जग्गा छुटाएर भूमि आयोगलाई सिफारिस गर्ने र भूमि आयोगले धनिपुर्जा वितरण गर्ने बरालले बताए । निस्सा प्राप्त गरेका भूमिहीनहरूले जग्गाको धनिपुर्जा पाउने चरणमा पुगेको बताइएको छ ।