धरान : झापाको दमक नगरपालिका-८ बाट अवैध कपडा सहित दुई वटा सवारी साधन प्रहरीले  नियन्त्रणमा लिएको छ । 

आइतबार दिउँसो साढे १ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी नायव उपरीक्षक सहितको प्रहरी टोलीले दमकको पशुहाट डाँडा स्थित पूर्व पश्चिम राजमार्गमा सवारी साधन चेक जाँच गर्ने क्रममा प्रदेश १-०१-००१ ज ३४३८ नम्बर र  मे. १ ज २८०४ नम्बरको पिकअप गाडीमा अवैधरुपमा बोकेको विभिन्न प्रकारका कपडाहरू बरामद गरेको हो ।

बरामद गरिएको करिब २२ लाख ६ हजार मूल्य बरावरको अवैध कपडा सहित २ वटा पिकप गाडी र दुवै सवारी चालक समेतलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाइएको र अन्य थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 

यसै गरी विशेष सूचनाको आधारमा आइतबार दिउसो साढे २ बजे इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले झापाको बाह्रदशी गाउँपालिका-३ राजगढ बजारको पशुहाट स्थित खाली सार्वजनिक स्थानमा भन्सार छली अवैधरुपमा चोरी पैठारी गरी भारतबाट नेपालमा ल्याई राखेको २ हजार किलोग्राम (४० बोरा) चिनी पनि बरामद गरेको छ ।

बरामद गरेको उक्त चिनी आवश्यक कारवाहीको लागि भद्रपुर भन्सार कार्यालय झापामा बुझाएको र अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।