धरान : राष्ट्र बैङ्कले कर्जा प्रवाहमा अवरोध सृजना गराउने गरी नीति अवलम्बन गरेको भन्दै सुनसरी उद्योग वाणिज्य सङ्घले आपत्ति जनाएको छ । आइतबार विज्ञप्ति जारी गर्दै उद्योग वाणिज्य सङ्घ सुनसरीले "चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९" ले उद्योगी व्यावसायि मारमा पर्ने बताएको हो ।
कर्जा लिएका उद्योगी व्यावसायिकहरू ऋण चुक्ता गर्न र निर्देशिका बमोजिम अगाडि बढ्न नसक्ने सङ्घको ठहर छ । रुस युक्रेन युद्धको कारणले  नियन्त्रण बाहिरको मूल्य वृद्धिले असर पुर्‍याएको भन्दै बैंकिङ्ग क्षेत्रमा देखा परेको तरलता अभाव लगायतका कारणले स्वीकृत भइसकेको कर्जा समेत प्राप्त गर्न नसक्दा व्यवसायमा समस्या आएको विज्ञप्तिमा उल्लेख छ ।
हाल कायम कर्जाको ब्याज समेत तिर्न नसकेर व्यवसायीहरू पलायन हुँदै जाने अवस्था सृजना भएको कुरा प्रष्ट पारिएको छ । 
"उद्योगी, व्यवसायी, सरकार तथा नेपाल राष्ट्र बैङ्क लगायतका सम्पूर्ण निकायहरूको उद्देश्य भनेको व्यवसायहरू पारदर्शी होउन्, मुनाफा आर्जन गरुन्, आयकर समयमा तिरुन्, वस्तु तथा सेवाको नियमित जनमानससम्म प्रवाह गरुन् भन्ने नै हो। हामी यस विषयमा रत्तिभर विचलित छैनौ र भविष्यमा समेत हुने छैनौ," विज्ञप्तिमा भनिएको छ। "चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९" मा उद्योगी व्यावसायिकलाई समस्या पार्ने नीति आएको उवासंघ सुनसरी अध्यक्ष श्रेष्ठले बताए ।
हाललाई बैकहरूमा तरलता सहज नभएसम्म नियमित कर्जा प्रवाह सुरु गर्न उनले आग्रह गरेका छन् । यस्तो निर्देशन फिर्ता लिई व्यवसायीहरूलाई सहयोग गर्न उनको माग छ ।
press-release-sunsari-fncci