धरान : धरान-९ बाट १५ सय कार्टुन म्याद गुज्रेको चिजवल बरामद गरी नष्ट गरिएको छ । 

धरान-९ मा रहेको विएस फुड्स एण्ड सप्लायर्समा एसजी फुड्स मकवानपुर, हेटौडाद्वारा उत्पादित चिजबल म्याद गुज्रेको अवस्थामा ल्याइपुर्‍याएको र फिर्ता नलगेकोले नष्ट गरिएको सप्लायर्सका प्रोप्राइटर विकास प्रधानले बताए । 

म्याद गुज्रेको चिजवल रहेको जानकारी धरान उपमहानगरपालिकामा आएकोले उपमेयर आइन्द्रविक्रम बेघाको नेतृत्वमा इलाका प्रशासन कार्यालय धरान, इलाका प्रहरी कार्यालय धरान, वातावरण महाशाखाका प्रमुख, धरान-९ का वडाध्यक्ष सहितको टोलीले अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा ठुलो मात्रामा म्याद गुज्रेको चिजवल रहेको पाइएकोले सोमबार पहिलो चरणमा धरान-६ पानवारीमा रहेको भेन्चर वेस्ट टु इनर्जी प्रालीमा लगेर नष्ट गरिएको र बाँकी रहेको चिजवल मंगलबार नष्ट गर्ने गरी अनुगमन टोलीले सिल गरेको छ। करिब ६ लाख बरावरको चिजवल नष्ट गरिएको बताइएको छ ।

आफ्नो सप्लायर्समा आएको चिजवल म्याद गुज्रेको पाइएपछि कम्पनीलाई फर्काउन लगाउँदा पनि नलगेको र पछि बुझ्दा कम्पनी नै बेपत्ता भएको जानकारी पाएकोले चिजवल नष्ट गर्नुपरेको धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले बताए ।