धरान : धरानको पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ धरानमा तीन दिने ब्ल्याक हग राइडर्स मिट हुने भएको छ । 

रोयल इस्टर्न इन्फिल्डर्स धरानले आज पत्रकार सम्मेलनको आयोजना गरी यही भदौ २४ देखि २६ गते सम्म तीन दिन देश विदेशबाट सहभागी रोयल इन्फील्र्डस मोटरसाइकल चलाउने राइडर्सहरुको ब्ल्याक हग राइडर्स मिट हुने जनाएको हो । 

धरान-१९ को हरियाली सामुदायिक बनमा हुने सो मिटमा नेपालका विभिन्न ठाउँबाट २० वटा समूह र भारतबाट १५ समूह गरी करिब २ सय राइडर्सहरुको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

कार्यक्रमको मुख्य उद्देश्यहरू मोटरसाइकल राइडर्स युवाहरू बिच भाइचाराको सम्बन्ध अभिवृद्धि गर्ने, धरान तथा धरान आसपासको क्षेत्रहरूको पर्यटन प्रवर्द्धन गर्ने, जातीय तथा सांस्कृतिक पहिचानको बारेमा सहभागीहरूलाई जानकारी दिने, सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना गराउने र लागुऔषध दुव्र्यशन विरुद्ध युवाहरूमा जनचेतना जगाउने रहेको बताइएको छ ।  

रोयल इस्टर्न इन्फिल्डर्स क्लब धरानको आयोजना, धरान उपमहानगरपालिकाको सहकार्यमा हुन गइरहेको ब्ल्याक हग राइडर्स मिटमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शनी, साङ्गीतिक कार्यक्रम, धरान तथा धरान आसपासको धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको अवलोकन, विभिन्न शीर्षकमा उत्कृष्ट पुरस्कारहरूको घोषणा तथा पुरस्कार वितरण लगायतका कार्यक्रम हुने बताइएको छ ।