इटहरी : बुधवार (भोलि) देखि नेपाल शैक्षिक परामर्श सङ्घ पूर्वाञ्चल (ई-क्यान) ले शैक्षिक मेला गर्ने भएको छ ।
ई-क्यान पूर्वाञ्चलका अध्यक्ष प्रकाश लकान्द्रीका अनुसार बुधवार (भोलि) बिहान ८ बजे इटहरीको दुर्गा पार्टी प्यालेसमा शैक्षिक मेलाको उद्घाटन हुनेछ । विशेष गरी युवा विद्यार्थी वर्गलाई लक्षित गरी शैक्षिक मेला आयोजना गर्न लागिएको लकान्द्रीले बताए ।
‘शैक्षिक मेलामा सहभागी हुने विद्यार्थीहरूलाई सिनेमा हलको निःशुल्क टिकट समेत वितरण गरिनेछ,’ उनले भने, ‘विद्यार्थीहरूलाई हामीले सहजीकरण गर्ने उद्देश्यले यो मेलाको आयोजना गरिएको हो ।’
उनले सहभागी विद्यार्थीहरूलाई सिनेमा हलको निःशुल्क टिकट समेत दिइने बताए । उनका अनुसार कार्यक्रममा ई-क्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डे, निवर्तमान अध्यक्ष विष्णुहरि पाण्डे साथै विभिन्न शिक्षा क्षेत्रका व्यक्तिहरूको सहभागी हुनेछ ।
ई-क्यानले बुधवार २२ गते इटहरीको दुर्गा पार्टी प्यालेस, २३ गते बिहीबार धरानको होटेल गजुर प्यालेसमा र २४ गते शुक्रवार विराटनगरको नमस्कार होटेलमा शैक्षिक मेलाको आयोजना हुने ई-क्यान पूर्वाञ्चलका निवर्तमान अध्यक्ष रोशन निरौलाले बताए ।
उनका अनुसार ५ बजेसम्म सञ्चालन हुने मेलामा दैनिक एक हजार भन्दा बढी विद्यार्थीहरूले अवलोकन गरी परामर्श लिनेछन् । विभिन्न ठाउँका व्यवसायीहरूले राखेको स्टलमा विद्यार्थीहरूले परामर्श गर्ने तथा उनीहरूलाई दक्ष एवम् अनुभवी व्यक्तिहरूबाट परामर्श समेत दिइने बताइएको छ ।
तीन दिने मेलाको कुल लागत २५ देखि २६ लाख रुपैयाँ अनुमान गरिएको छ ।