धरान : नेपालको पहिलो नवनिर्वाचित प्रधानमन्त्री महामानव बिपी कोइरालाको १०९ औँ जन्म जयन्तीको अवसरमा नेविसङ्घले विभिन्न कार्यक्रमको आयोजन गर्ने भएको छ ।
नेपाल विद्यार्थी सङ्घ पिण्डेश्वर एकाइले महामानव विपी कोइरालालाई स्मरण गर्दै सुनसरी क्षेत्र नं. १ स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ । वर्तमान समयमा नेपाली काङ्ग्रेसले विपी र विपीको समाजवादलाई भुल्दै गइरहेको अवस्थामा पिण्डेश्वर एकाइले 'बिपीको समाजवाद र आजको सन्दर्भ' जस्तो महत्त्वपूर्ण विषयको छनोट गरी भाद्र २३ गते वक्तृत्वकला कार्यक्रम गर्ने बताएको छ।
उक्त कार्यक्रममा आयोजकले सुनसरी क्षेत्र नं. १ मा रहेका कलेज र उच्च माविमा गरी १६ वटा शैक्षिक संस्थालाई प्रतियोगी सहभागिता गराउन पत्राचार गरेको छ। उक्त कार्यक्रमको सभापतित्व पिण्डेश्वर एकाइका सभापति प्रवेश पौडेल गर्नेछन् ।
नेपाल विद्यार्थी सङ्घ धरान नगर समितिले पनि महामानव विपी कोइरालालाई श्रद्धा सुमन स्वरूप सुनसरी क्षेत्र नं. स्तरीय हाजिरी जबाफ प्रतियोगिता आयोजना गर्ने भएको छ। हाजिरी जबाफ प्रतियोगितामा सुनसरी क्षेत्र नं. १ भित्र रहेका १२ वटा कलेजलाई कार्यक्रममा सहभागिता जनाउन पत्राचार गरेको छ। यस हाजिरी जबाफ कार्यक्रमको सभापतित्व नेविसङ्घ धरान नगर कार्यसमितिका सभापति पारस लिम्बुले गर्नेछन् ।
कार्यक्रम महेन्द्र बहुमुखी क्याम्पसमा भाद्र २२ गते बुधवार हुने प्रचारप्रसार समितिका संयोजक आलोक लिम्बुले जानकारी दिए।