धरान : मंगलबार सुनसरी र इलाममा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

सुनसरीको दुहबी-३ कोसी राजमार्गको फुटानी चौकमा दिउँसो १२ बजे उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १च ७१८६ नम्बरको ग्यास बोकेको पिकअप गाडी र उत्तर तर्फ आउँदै गरेको प्रदेश न.१-०४-००१ प ८१३८ नम्बरको मोटरसाइकल एक आपसमा जुध्दा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

प्रहरीले दिएको जानकारी अनुसार मोटरसाइकल चालक मोरङको धनपालथान २ बस्ने २० वर्षीय धिरज मण्डलको मृत्यु भएको हो । उनीसँगै मोटरसाइकलमा सवार सोही स्थान बस्ने अनिल देव र चक्र देव सामान्य घाइते भएका छन् ।  

पिकअप चालक सुनसरीको दुहबी-८ बस्ने वर्ष २७ को वीर नारायण चौधरीलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । 

यसैगरी मंगलबार ४ बजेर ४५ मिनेटमा इलामको रोङ गाउँपालिका ४ भालुझोडा स्थित मेची राजमार्गमा झापाबाट हर्कटे तर्फ जाँदै गरेको मे ४ प ८३५५ नं को मोटरसाइकलले सोही दिशाबाट जाँदै गरेको मे १ क ६५४ नं को ट्रकलाई ओभरटेक गर्ने क्रममा सडकमा रहेको खाल्डामा परी अनियन्त्रित भई सोही ट्रकको पछाडिको टायरको मुनि पस्दा ट्रकले किची मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पहिचान नखुलेको पुरुषको घटना स्थलमानै मृत्यु भएको र ट्रक चालक इलामको सूर्योदय नगरपालिका ९ बस्ने वर्ष ३६ को निर्मल तामाङलाई प्रहरी चौकी किटेनीको नियन्त्रणमा रहेको छ ।