धरान : धरानलाई सडक मानव मुक्त सहर बनाउने मुख्य उद्देश्यका साथ गए राति मध्यरात सम्म धरानको विभिन्न स्थानबाट ३२ जना सडक मानवको उद्धार गरिएको छ । 

धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्रविक्रम बेघाको नेतृत्वमा राति १० बजे देखि चलेको अप्रेसनमा धरानका विभिन्न चौक र सडकहरूबाट ५ महिला सहित ३२ जना सडक मानवको उद्धार भएको छ । 

सडकमा अव्यवस्थित तथा जोखिमपूर्ण तरिकाले बस्दै आएका युवती तथा महिलाहरूलाई उद्धार गरी माया घर नेपाल इटहरी पठाइएको छ । यसैगरी अरू उद्धार गरिएका सडक मानवहरूमा बालबालिकाहरूलाई बालबालिका खोज तथा उद्धार केन्द्र बेलबारी र अरूलाई भिओसी इटहरी र विराटेश्वर मानव आश्रम विराटनगर पठाइएको उपमेयर आइन्द्रविक्रम बेघाले बताए ।

राति १० बजे देखि सुरु भएको अप्रेसन मध्य राति १२ बजे सम्म चलेको थियो । अप्रेसनमा उपमेयर बेघा सहित नगर प्रहरी, इलाका प्रहरी, वडा प्रहरी, माया घर नेपालका प्रतिनिधि, बालबालिका खोज तथा उद्धार केन्द्रका प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो । 

धरानको सडकमा बस्दै आएका सडक मानवहरूमा विषेशगरी किशोरी तथा महिलाहरू पनि रहेकोले निकै जोखिमपूर्ण जीवन यापन गरिरहेको पाईएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी बुद्ध श्रेष्ठले बताए । सडकमा बस्ने सडक बालकहरूलाई लागुऔषध ओसारपसारमा प्रयोग हुन सक्ने र अरू सडक मानवहरू चोरी र आपराधिक गतिविधिमा समेत संलग्न हुन सक्ने बताइएको छ । 

यस्ता जोखिमपूर्ण तरिकाले सडकमा रहेका मानवहरू असुरक्षित त छदै छन् आपराधिक गतिविधिमा संलग्न नहुन र बालबालिका पनि रहेकाले उनीहरूको भविष्य सुरक्षित हुन सकोस् भनेर यो उद्धार अभियान अन्तर्गत उद्धार गरिएको उपमेयर बेघाले बताए । धरानलाई सडक मानव मुक्त बनाउने अभियान अन्तर्गत धरानको सडक मानवहरूलाई निरन्तर उद्धार गरिने र परिवारसँग पुर्नस्थापना गर्ने गरी अभियान थालिएको हो । 

धरानको भानुचौक, बीपी गेट अगाडी, लाङ्घाली चौक लगायत धरानका विभिन्न सडक र चौकमा रहेका सडक मानवहरूको खोजी तथा उद्धार गरिएको थियो । 

Uddar-4Untitled-1Uddar-1Uddar-2