धरान : प्रेस सेन्टर नेपाल धरान उपमहानगर समितिको आयोजनामा बुधवार २ दिवसीय भाषणकला तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ।
धरान-१९ स्थित किरातेश्वर माविको सभा हलमा भएको पहिलो दिनको तालिममा कृति टेलिभिजनका कार्यक्रम निर्देशक मोहन श्रेष्ठ र सेन्टरका जिल्ला अध्यक्ष तीर्थ कार्कीले प्रशिक्षण दिएका थिए। सहभागीहरूलाई पहिलो दिन प्रस्तुतीकरण कसरी गर्ने, दर्शक वा मासको ध्यानाकर्षण गराएर कसरी बोल्ने, जीवनमा कसरी सफल हुने, आफ्नो क्षमताको विकास कसरी गर्ने आदिबारे प्रशिक्षण दिइएको प्रशिक्षक श्रेष्ठले जानकारी दिए। त्यस्तै दोस्रो दिन सार्वजनिक भाषणकला, भाषण प्रकारका हुन्छन्, नेतृत्व के हो, नेतृत्व विकास कसरी गर्ने, नेतृत्वमा हुनुपर्ने गुणहरू के के हुन आदिबारेमा सहभागीहरूलाई अभिमुखीकरण गराइएको प्रशिक्षक कार्कीले बताए। 
तालिममा महेन्द्र बहुमुखी क्याम्पस, धरान सिटी कलेज, धरान मोडल कलेज, केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार लगायतका गरी ५० जना सहभागी भएको सेन्टरका नगर उपाध्यक्ष नमिता राईले जानकारी दिइन।
युवा बिद्यार्थीहरुको वाककला र नेतृत्व विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको नगर सचिव स्वर्ण साम्बाहाम्फेले बताए। सहभागीहरूले तालिम उपलब्धिमूलक भएको बताए। सहभागीका तर्फबाट स्नेहा खरेल,  समीक्षा थापा, सारिका झा लगायतले तालिमको अनुभव सुनाए ।
सेन्टरका धरान उपमहानगर अध्यक्ष विनोद विश्वकर्माको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेपाल पत्रकार  महासङ्घ सुनसरीका अध्यक्ष जनक ऋषि राई प्रमुख अतिथि थिए।कार्यक्रममा नेपाल फोटो पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष विकास चाम्लिङ, सेन्टरका जिल्ला सहसचिव दिल बहादुर राई, जिल्ला सदस्य भवानी चुँडाल, युएन नबोदय कलेजका अध्यापक नाम्लिङ हाङ चेम्जोङ लगायतको उपस्थिति रहेको थियो।