इटहरी : इटहरी उपमहानगरपालिकाको १२२ औँ नगर कार्यपालिकाको बैठकले सार्वजनिक स्थानमा मदिरा तथा सुर्तीजन्य पदार्थको विक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । भदौ २२ गते बुधवार नगर प्रमुख हेमकर्ण पौडेलको अध्यक्षतामा बसेको बैठकले मदिरा तथा सुर्तीजन्य पदार्थ (खैनी, चुरोट, गुट्खा, भोला, रजनीगन्धा) को कारण सामाजिक समस्या सृजना गरेको भन्दै सार्वजनिक स्थानमा विक्री नगर्ने निर्णय गरेको हो । 

विभिन्न २६ वटा निर्णय भएको बैठकको निर्णय नं. १४ मा इटहरी उपमहानगरपालिका क्षेत्र भित्रका विद्यालय, क्याम्पस, स्वास्थ्य संस्था, बसपार्क जस्ता सार्वजनिक स्थानमा मदिरा तथा सुर्तीजन्य पदार्थहरू बिक्री वितरण गर्न रोक लगाउने निर्णय गरिएको छ ।
त्यस्तै इटहरी उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालन हुने योजनाहरूमा प्रयोग हुने निर्माण सामाग्री गुणस्तरीय परीक्षणका लागि प्राविधिक प्रयोगशाला निर्माण गरिने भएको छ । खाद्यवस्तुको गुणस्तरको जाँचका लागि खाद्य प्रयोगशाला सम्बन्धी कार्यविधि निर्माण गरी खाद्य गुणस्तरीयता मापन गरिने भएको हो ।
यस्ता छन् २६ निर्णयहरु 
निर्णय नं.१
नगर दररेट निर्धारण समिति इटहरीले चालु आ.व.२०७९/८० को लागि स्वीकृत गरी पेस हुन आएको कामदारको ज्याला, निर्माण सामाग्री ढुवानी मेशिन तथा उपकरणको भाडा सम्बन्धी दररेट स्वीकृत गर्ने निर्णय ।
निर्णय नं. २
करार कर्मचारीहरूको म्याद थप गर्ने सम्बन्धमा छलफल गर्दा यस विषयमा थप छलफल गर्नु पर्ने आवश्यक देखिएको हुँदा आगामी कार्यपालिका बैठकमा पेस गर्ने गरी आजको बैठकको कार्य सूचिबाट फिर्ता लिने निर्णय।
निर्णय नं. ३
इटहरी उपमहानगरपालिकामा सञ्चालित सुरक्षित आप्रवासन परियोजना लाई व्यवस्थित रूपमा सञ्चालन गर्नका निम्ति सुरक्षित आप्रवासन सम्बन्धी कार्यविधि, २०७९ र गैर सरकारी संस्था निर्देशिका, २०७९ स्वीकृत गर्ने निर्णय ।
निर्णय नं. ४
इटहरी उपमहानगरपालिकाको योजना सञ्चालन तथा नगर कार्यपालिकाको कार्यालय एवं अन्तर्गतको वडा कार्यालयमा अमिन प्राविधिकको अभाव देखिएकोले १० (दश) जना अमिन प्राविधिक (सहायक स्तर चौथो तह) को पदमा करार ऐन अनुसार करारमा नियुक्ति गर्ने निर्णय।
निर्णय नं. ५
इटहरी उपमहानगरपालिकाको नगर सभाको स्वीकृत बजेट अनुसारको योजना आयोजनाहरू मध्ये १० (दश) लाखसम्मका योजनाहरू लगत स्टिमेट स्वीकृत गर्ने कार्य सम्पन्न मूल्याङ्कन गरी भुक्तानीका लागि नगर कार्यपालिकाको कार्यालयमा सिफारिस पठाउने गरी योजना सम्झौता गर्ने अधिकार सम्बन्धित वडा कार्यालयलाई दिने निर्णय ।
निर्णय नं. ६
इटहरी उपमहानगरपालिका क्षेत्रमा उपभोक्ता समितिद्वारा सञ्चालन गर्ने योजनाहरूको लागत सहभागिता सम्बन्धमा आएका समस्याको समाधानका लागि इटहरी उपमहानगरपालिकाको योजना सञ्चालन सम्बन्धी कार्यविधि, २०७५सम्बन्धी परिमार्जन का लागि विपन्न, दलित, सुकुम्वासी परिवार, बस्ती, समुदाय, मठमन्दिर, सङ्घसंस्था, विद्यालय, खोला पैनी, सार्वजनिक स्थल जस्ता क्षेत्रको लागत सहभागिता सम्बन्धमा सुझाव पेस गर्न देहाय बमोजिम समिति गठन गने र सो समितिलाई ७ (सात) दिनको समय दिने निर्णय।
देहाय:
(१) संयोजक – श्री मानबहादुर विश्वकर्मा (भौतिक पूर्वाधार समिति संयोजक)
(२) सदस्य – श्री मणिराम श्रेष्ठ(२० नं. वडा अध्यक्ष)
(३) सदस्य – श्री भुवनराज पोखरेल (१२ नं. वडा अध्यक्ष)
(४) सदस्य – श्री अरुण राजलवट (इन्जिनियर)
(५) सदस्य सचिव – श्री माया राई (योजना शाखा प्रमुख)
निर्णय नं. ७
इटहरी उपमहानगरपालिका भित्र सञ्चालित योजनाको उपभोक्ताहरू तर्फबाट लागत सहभागिता गर्नुपर्ने लागत सहभागितामा योगदान गर्नु हुने उपभोक्ता वा सेवाग्राहीहरूको सेवालाई रोक्ने सम्बन्धित वडा कार्यालयलाई अधिकार दिने निर्णय।
निर्णय नं. ८
इटहरी उपमहानगरपालिका नगर कार्यपालिकाको सेवालाई प्रभावकारी बनाउनका लागि इटहरी उपमहानगरपालिकाका नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत बिच आ.व. २०७९।८० कार्य सम्पादन सम्झौता गर्ने निर्णय।
निर्णय नं. ९
इटहरी उपमहानगरपालिका क्षेत्रमा रहेका विभिन्न जातजातिहरूको धर्म परम्परा संस्कृति अनुसारका ग्रामथानहरू सूचिकृत गर्न वडा कार्यालयहरूलाई चालु आ.व. २०७९।८० भित्र यस कार्यालयमा उपलब्ध गराई ग्रामथानहरूको सूचिकृत गर्ने निर्णय ।
निर्णय नं. १०
इटहरी उपमहानगरपालिका वडा नं.९ मा रहेको इटहरी बसपार्कको नगर विकास कोष सँग ऋण सहायतामा स्तरोन्नति गर्ने निर्णय ।
निर्णय नं. ११
इटहरी उपमहानगरपालिकाको नगर प्रहरी सञ्चालन र व्यवस्थापनका लागि नगर प्रहरी ऐनको मस्यौदा पेस गर्नका निम्ति कानुन मस्यौदा समितिलाई अनुरोध गर्ने निर्णय ।
निर्णय नं. १२
इटहरी उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालन हुने योजनाहरूमा प्रयोग हुने निर्माण सामाग्री गुणस्तरीय परीक्षणका लागि प्राविधिक प्रयोगशाला, खाद्यवस्तुको गुणस्तरको जाँचका लागि खाद्य प्रयोगशाला सम्बन्धी कार्यविधि निर्माण गर्ने निर्णय गर्ने निर्णय ।
निर्णय नं. १३
इटहरी उपमहानगरपालिकाको आ.व. २०७८।७९ को वार्षिक समीक्षा कार्यालयले उपयुक्त समय निर्धारण गरी आयोजना गर्ने निर्णय ।
निर्णय नं. १४
इटहरी उपमहानगरपालिका क्षेत्र भित्रका विद्यालय, क्याम्पस, स्वास्थ्य संस्था, बसपार्क जस्ता सार्वजनिक स्थानमा मदिरा तथा सुर्तीजन्य पदार्थहरू बिक्री वितरण गर्न रोक लगाउने निर्णय ।
निर्णय नं. १५
इटहरी उपमहानगरपालिका वडा नं. १२ स्थित रहेको वडा कार्यालय रहेको भवन भएका सटर भाडा यस अगावै भएको सम्झौता बमोजिमको रकम असुल उपर गरी नयाँ सम्झौताका लागि खुल्ला बोलपत्र आव्हान गरी ठेक्का बन्दोबस्त गर्ने निर्णय ।
निर्णय नं. १६
इटहरी उपमहानगरपालिकाद्वारा जारी भएको सहकारी ऐन २०७५ को दफा ३ को उपदफा (१)बमोजिम देहाय बमोजिमको नगर सहकारी समिति गठन गर्ने निर्णय ।
(१) संयोजक – श्री हेम कर्ण पौडेल (नगर प्रमुख)
(२) सह संयोजक – श्री सङ्गीता कुमारी चौधरी (नगर उपप्रमुख)
(३) सदस्य – श्री रामचरित्र मेहता (प्रमुख प्रशासकीय अधिकृत)
(४) सदस्य – श्री रतन कार्की (१ नं. वडाध्यक्ष)
(५) सदस्य – श्री गङ्गा दाहाल (सहकारी संस्था)
(६) सदस्य – श्री भोला बस्नेत (सहकारी संस्था)
(७) सदस्य – श्री विमला श्रेष्ठ (सहकारी संस्था)
(८) सदस्य सचिव – श्री वालकुमार पोखरेल (सहकारी शाखा प्रमुख)
निर्णय नं. १७
इटहरी उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयमा विभिन्न वडाका रोग लागि उपचार गराउनु भएका उपचार गराइ रहेका र विभिन्न प्राकृतिक प्रकोप आगलागी तथा दुर्घटनामा पर्नु भएका देहाय बमोजिमका व्यक्तिहरूलाई देहाय बमोजिमको आर्थिक सहयोग उपलब्ध गराउने निर्णय ।
देहाय
(१) नगेन्द्र नेपाल, इटहरी – २ रु ३०,०००/-(उपचार)
(२) अनिता भुजेल, इटहरी – ५ रु ४०,०००/- (आगलागी)
(३) वालकृष्ण गौतम, रु ५०,०००/- (उपचार)
(४) विनोद रिजाल, इटहरी – १ रु २५,०००/- (उपचार)
(५) सुरज महतो, इटहरी – ६ रु ५०,०००/- (उपचार)
(६) निर्मल ढुङ्गेल, रु १,००,०००/- (उपचार)

निर्णय नं. १८

भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित वसोवासीको लगत सङ्कलन कार्यविधि अनुसार वडाभित्रका क्षेत्रहरूलाई ३ (तीन) तहमा क्षेत्र निर्धारण गरी वडा कार्यालय मार्फत माग गर्ने निर्णय ।

निर्णय नं. १९
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत समय सीमाभित्र बेरोजगारहरू सूचिको वडा कार्यालय मार्फत आवेदन पेस गरेका बेरोजगार व्यक्तिहरूको सूचिकृत गर्ने निर्णय ।
निर्णय नं. २०
इटहरी उपमहानगरपालिका क्षेत्रभित्र मेट्रिक ठेगाना प्रणाली लागु गर्ने साथै मेट्रिक ठेगाना प्रणाली निर्देशिका स्वीकृत गर्ने निर्णय गरियो साथै उक्त निर्देशिका बमोजिम देहाय बमोजिमका मेट्रिक ठेगाना प्रणाली निर्देशक समिति गठन गर्ने निर्णय ।
देहाय
(१) संयोजक - श्री हेमकर्ण पौडेल (नगर प्रमुख)
(२) सदस्य - श्री सङ्गीता कुमारी चौधरी (नगर उपप्रमुख)
(३) सदस्य - श्री मन बहादुर विश्वकर्मा (पूर्वाधार विकास समिति, संयोजक)
(४) सदस्य - श्री प्रमोद शेर्पा (सामाजिक विकास समिति, संयोजक)
(५) सदस्य – श्री श्रीनारायण चौधरी (वन वातावरण तथा विपद् व्यवस्थापन समिति, संयोजक)
(६) सदस्य - श्री दिपा राई (आर्थिक विकास समिति, संयोजक)
(७) सदस्य - श्री भिमादेवी राई (संस्थागत विकास सेवा प्रशासन तथा सुशासन समिति, संयोजक)
(८) सदस्य - श्री राम चरित्र मेहता (प्रमुख प्रशासकीय अधिकृत)
(९) सदस्य - श्री मणिराम श्रेष्ठ (२० नं. वडाध्यक्ष)
(१०) सदस्य - श्री जितेन्द्र थापा (९ नं. वडाध्यक्ष)
(११) सदस्य - श्री तेज नारायण चौधरी (१६ नं.वडाध्यक्ष)
(१२) सदस्य - श्री अर्जुन कुमार दाहाल (भौतिक विज्ञ)
(१३) सदस्य सचिव - श्री जीवन घिमिरे (इन्जिनियर)
निर्णय नं. २१
इटहरी उपमहानगरपालिका अन्तर्गत रहेका सबै वडा कार्यालयहरूमा एक एक जना कार्यालय सहयोगी स्तरको २० जना विद्युत् प्राविधिक दैनिक डोर हाजिरमा कामकाज लगाउने निर्णय गरियो साथै एक जना सहायक स्तरको पाँचौँ तहको विद्युत् प्राविधिक करारमा नियुक्ति गर्ने निर्णय ।
निर्णय नं. २२
नेपाल सरकार गृह मन्त्रालयद्वारा नेपाली नागरिकहरूको राष्ट्रिय परिचयपत्र निर्माणका लागि वडामा खटी आएका कर्मचारीहरूको लागि भएको खर्च वडा कार्यालयको सिफारिस अनुसार प्राप्त विल भर्पाई अनुसारको रकम भुक्तानी दिने निर्णय ।
निर्णय नं. २३
यस उपमहानगरपालिका परिसरभित्र आउने सेवाग्राही, कर्मचारी, जनप्रतिनिधिहरूको लागि उपमहानगरपालिका परिसर भित्र चमेना गृह निर्माण गर्ने निर्णय ।
निर्णय नं. २४
वि.सं. २०७४ सालभन्दा अगाडि निर्माण भएका घरहरूको हालसम्म अभिलेखीकरण नभएका घरहरू कानुन बमोजिम जरिवाना लिई अभिलेखीकरण गर्ने निर्णय गरियो ।
निर्णय नं. २५
इटहरी-१२ स्थित रहेको भारवीकलेज नजिकको सार्वजनिक जग्गाको सम्बन्धमा स्थलगत नाप जाँच गरी प्रतिवेदन पेस गर्न प्राविधिक टोली खटाउने निर्णय ।
निर्णय नं. २६
नगर कार्यपालिकाको नियमित बैठक प्रत्येक महिनाको अन्तिम हप्ताको शुक्रवार दिनको १ः०० बजे बैठक बस्ने निर्णय ।