धरान : धरान-१३ राई टोलका ३० परिवार भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको नामावली स्वीकृत गर्ने लगायतको निर्णय गर्दै धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । 

कार्यपालिका बैठकले धरान-१३ राई टोलका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको लगत सङ्कलन फारम प्रविष्टि गरिसकेको छ । १३ नम्बर वडा कार्यालयमा भदौ ७ गते दाबी विरोध गर्ने ७ दिने र अव्यवस्थित बसोवासीका लागि दाबी विरोध गर्ने सूचना प्रकाशन पनि भइसकेको छ ।

पहिलो चरणमा राई टोलका ३० घर परिवारको विवरण वडास्तरिय सहजीकरण समितिले स्वीकृतका लागि पेस गरेको छ । अन्य बाकी कामको हकमा सहजीकरण समितिको सिफारिसमा क्रमशः प्रक्रिया अगाडी बढाउने बैठकले निर्णय गरेको छ । 

यसैगरी धरान उपमहानगरपालिका अन्तर्गत रहेका क्षेत्रहरूमा बाटो निर्माण तथा मर्मत सम्भार उपकरण सहितको समन्वय संयन्त्र बनाउने पनि निर्णय भएको छ । 

बैठकमा एक वडा एक पूर्वाधार कार्यक्रम कार्यान्वयनका लागि आर्थिक वर्ष २०७९/८० को बजेट उपक्षेत्र भवन आवास तथा सहरी विकासको कार्यक्रममा १ करोड ९० लाख कार्यान्वयन गर्ने, वडागत रुपमा टुक्राउनुपर्ने भएकोले वडाको अवस्था अनुसार वडाको सिलिङ सङ्कलन सुची बमोजिम बाँडफाँड गर्ने पनि निर्णय भएको छ । 

बैठकमा फुटपाथ व्यवस्थापन, कवाडी हटाउने, होटल रेस्टुरेन्ट सम्बन्धी मापदण्ड बनाउने बारे पनि छलफल भएको थियो । होटल रेस्टुरेन्ट सम्बन्धी मापदण्ड अन्तर्गत नगर क्षेत्रमा सञ्चालनमा रहेका होटल रेस्टुरेन्ट व्यवसायलाई थप व्यवस्थित, मर्यादित र सुरक्षित बनाई सञ्चालन गर्न मापदण्ड निर्धारण गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने भएकोले होटल रेस्टुरेन्टको वर्गीकरण सम्बन्धमा पेस भएको मापदण्ड स्वीकृत गर्ने निर्णय गरेको छ । यसका लागि एक धरान-१५ का वडाध्यक्ष नरेश इङवारामको संयोजकत्वमा एक समिति पनि गठन भएको छ । 

यसैगरी वडा नम्वर ४ मा स्वास्थ्य सामाग्री ढुवानीको भाडा सम्बन्धमा, विद्यालयको नाम परिवर्तनको सम्बन्धमा, ओजेटी सम्बन्धी, बाटोको नाम कायम सम्बन्धमा, कान्जी हाउस निर्माण गर्ने सम्बन्धमा, सम्पत्ति व्यवस्थापन सम्बन्धमा लगायतका १८ वटा एजेन्डा माथि छलफल भएको थियो ।

बैठकमा साबुन उद्योग सञ्चालन गर्नका लागि धरान-२० को देवीगाउँ सर्दु खोला पारीको क्षेत्रलाई औद्योगिक ग्रामको रूपमा विकास गर्ने सम्बन्धमा भने यो बैठकबाट निर्णय हुन सकेन । अर्को बैठकबाट निर्णय गर्ने गरी छलफल भएको थियो ।

बैठकको समापन गर्दै मेयर हर्क साम्पाङले धरानमा भइरहेको खानेपानी मुहान सुधार र श्रमदानमा सहभागी हुन समेत वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूलाई आग्रह गरे ।