सुनसरी : दोस्रो संस्करणको पञ्चायन गोल्डकप आगामी असोज १ गते देखी सुरु हुने भएको छ । 
सुनसरीको रामधुनी-७ स्थित पञ्चायन खेल मैदानमा हुने गोल्डकप विजेताले नगद १ लाख २५ हजार रुपैयाँ र उपविजेताले ७५ हजार पुरस्कार पाउने आयोजक पञ्चायन क्लबले शनिवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ । 
यस्तै विधागत रूपमा उत्कृष्ट हुने प्रत्येक खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ। असोज १० गतेसम्म चल्ने प्रतियोगितामा सुनसरी, मोरङ र उदयपुरका १० टिमको सहभागिता रहने बताइएको छ । 
प्रतियोगितामा शान्तिनगर फुटबल क्लब इटहरी, उदयपुर फुटबल क्लब गाईघाट, मितेरी फुटबल क्लब धरान, इनरुवा इभेन्ट्स म्यानेजमेन्ट इनरुवा, सप्तकोशी फुटबल क्लब वराहक्षेत्र, नवयुवा क्लब मोरङ, सयपत्री फुटबल क्लब वराहक्षेत्र, योङलर्ड बुद्ध क्लब इटहरी र आयोजक टिम निलो र रातो गरी १० टिमको सहभागिता रहने आयोजकले जनाएको छ । 
रामधुनी नगरपालिकाको प्रायोजन र पञ्चायन सामुदायिक बनको सह प्रायोजनमा हुने प्रतियोगितामा सम्पन्न गर्न ९ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने बताइएको छ ।