धरान : परिवर्तनका लागि सामाजिक अभियानले सञ्चालन गरेको निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकले एक वर्ष पूरा गरेको छ । 

अभियानले १ वर्ष पुरा गरेको अवसरमा अव देखि उच्च रक्तचापको औषधी र मधुमेह परीक्षण पनि निःशुल्क हुने भएको छ । २०७८  असोज २ गतेदेखि सो क्लिनिकको सुरुवात भएको थियो । उक्त क्लिनिक पाक्षिक रूपमा आयोजना गरिदैआएको छ ।

हरेक वडामा कार्यक्रम गर्ने अभियान अनुरूप यस पटक धरान जेसीज प्रथम महिला समूहको सहकार्यमा २४ औँ संस्करणको कार्यक्रम सुनसरी उद्योग वाणिज्य सङ्घको सभा हलमा आयोजना भएको थियो । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा परीक्षण हुने सो क्लिनिकमा ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गराएका थिए । विशेष गरी मुटु रोग, मधुमेह र रक्तचाप सम्बन्धी रोगहरू जाँच गरिने उक्त कार्यक्रममा ७३ जना बिरामीहरूको स्वास्थ्य परीक्षण गरिएको अभियानका अध्यक्ष विष्णु बरालले जानकारी दिए ।

अभियानका सल्लाहकार मोहन श्रेष्ठ, संयोजक त्रिभुवन बराल, कोषाध्यक्ष वर्षा अग्रवाल, जेनिश शाक्य, निशान नेपाल, प्रशान्त अग्रवाल र हेम ढकाल लगायतका अभियन्ताहरूको सक्रिय सहभागिता रहेको उक्त क्लिनिकमा स्टाफ नर्स चेतना परियारले बिरामीहरूको रक्तचाप परीक्षण गरेकी थिइन । 

औषधि र मधुमेह परीक्षण निःशुल्क :

परिवर्तनका लागि सामाजिक अभियानले यस पटकको कार्यक्रम देखि बिरामीहरूको मधुमेह निःशुल्क परीक्षण गरेको छ । मधुमेह भएका बिरामीहरूको परीक्षण पश्चात् मात्र स्वास्थ्य जाँच गरेको थियो ।

त्यसैगरी बिरामीहरूलाई मुटु रोग र उच्च रक्तचापको औषधीहरू पनि निःशुल्क वितरण गरिएको अध्यक्ष बरालले बताए । बरालले भने “यस पटकदेखि हामीले निःशुल्क रूपमा मधुमेह परीक्षण र औषधि वितरण गरेका छौँ, यस कार्यबाट बुवाआमाहरुलाई सहजता हुन्छ नै होला ।”

अभियानले आयोजना गरेको यस प्रकारको कार्यक्रममा सहकार्य गर्न पाएकोमा धरान जेसीजकी प्रथम महिला कोपिला श्रेष्ठले अभियान र डा. शाहप्रति आभार प्रकट गरेकी थिइन् ।