पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिका-२ को एक विद्यालयलाई कोरियामा रहेका गजेन्द्र सेर्माले १४ थान कम्प्युटर सेट प्रदान गरेका छन् । कुम्मायक-२ स्थित माङजाबुङ घर भई हाल दक्षिण कोरिया प्रवासमा श्रम गर्दै आएका सेर्माले सोही वडाकै सिद्ध सरस्वती मा.वि लाई १४ थान कम्प्युटर सेट सहयोग गरेका हुन । विद्यालयमा आयोजित एक कार्यक्रमका बिच सेर्मा परिवारले विद्यालयका प्रधानाध्यापक पूर्णकुमार सेर्मालाई उक्त कम्प्युटर सेट हस्तान्तरण गरेका थिए ।
सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर कमजोर हुँदै गएको भन्दै शिक्षालाई व्यावसायिक र प्रविधिमैत्री बनाउने उद्देश्यले कम्प्युटर हस्तान्तरण गरेका सेर्माको भनाइ छ । उनले ३ लाख मूल्य बराबरको १४ थान कम्प्युटर विद्यालयलाई हस्तान्तरण गरेका हुन । विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउन महत्त्वपूर्ण योगदान दिएको भन्दै विद्यालयले सेर्माको परिवारलाई सम्मान गरेको थियो । 
कार्यक्रममा गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीले विद्यालयमा पुर्‍याएको योगदान प्रति  खुलेरै प्रशंसा गरे । उनले भने “कोरियामा पैसा कमाउन ठुलो सङ्घर्ष गर्नुपर्छ । त्यही सङ्घर्ष गरेर कमाएको पैसाले गाउँपालिकाको वृद्धि र विकासको लागि खर्च गर्नु पुण्यको काम हो । यो कामलाई पालिकाले सधैँ स्मरण गर्नेछ उनले भने । 
कार्यक्रममा वडाध्यक्ष बालकृष्ण सेर्मा, शिक्षक, अभिभावक, विद्यार्थी राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
computer-set-korea