धरान : धरान उपमहानगरपालिकाको वडा नं. १३ मा रहेको आधारभूत सहरी स्वास्थ्य केन्द्रमा स्वास्थ्य जाँच गर्न आउने गर्भवती महिलाहरूलाई अण्डा उपहार दिन थालिएको छ । 

आइतबार देखि सुरु भएको यो अभियान अन्तर्गत पहिलो दिन १२ जनालाई प्रतिव्यक्ति १० वटा अण्डा उपहार दिएर अभियानको सुरुवात गरिएको छ । यो अभियान धरान-१३ मा पहिलो पटक सुरु गरिएको वडाध्यक्ष नेत्र प्रसाद काफ्लेले बताए । 

स्वास्थ्य केन्द्रमा स्वास्थ्य जाँच गर्ने गर्भवती महिलाहरूको गर्भ परीक्षण गर्न आउँदा अहिले सुरुवातमा १० वटाबाट सुरु गरिएको भए पनि १ क्यारेट सम्म दिने गरी लक्ष रहेको अध्यक्ष काफ्लेले बताए । 

पहिले मातृ शिशु स्वास्थ्य क्लिनिकबाट अहिले आधारभूत सहरी स्वास्थ्य केन्द्र बनेपछि हेल्थ असिस्टेन्टबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको छ । केन्द्रबाट ४० प्रकारको औषधी समेत निःशुल्क वितरण भइरहेको केन्द्रका प्रमुख सरोज बास्तोलाले बताए । 

प्रदेश १ कै पहिलो बालमैत्री वडा घोषणा भएको धरान-१३ मा सुरु भएको यो अभियान पनि धरानमा पहिलो भएको दाबी गरिएको छ ।