धरान : यही असोज २८ गते देखि पोखरामा हुन लागेको ९ औ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश १ खेलाडी छनौट प्रतियोगिता स्थल धरान रङ्गशाला कर्भडहल मर्मत सम्भार सुरु भएको छ ।

प्रदेश १ खेलकुद बोर्ड, धरान-१६ र १८ नं वडा कार्यालयको सहयोगमा मर्मत सम्भार सुरु भएको हो । कर्भडहलको केही थान छानो उज्यालोको लागि ट्रान्सपरेन्ट लगाइने, चेन्जिङ्ग रुम, बाथरुम र हलको झ्याल मर्मत गरिने र फ्लोर रङ्गाइने भएको छ । हलमा बढी टिनको मात्रा प्रयोग भएको कारण ज्यादा गर्मी हुने भएकोले हलको दाँयाबाँयाको माथिल्लो भागमा केही भाग खोलिने सुनसरी खेलकुद विकास समितिका अध्यक्ष दीपक राईले बताए ।

धरानमा मात्र ६ खेलको प्रदेश १ खेलाडी छनौट प्रतियोगिता हुदैछ त्यसमध्ये बास्केटबल महिला पुरुष, कतारे र जुडो खेल धरान-१६ मा रहेको धरान रङ्गशाला परिसरमा रहेको कर्भडहलमा हुदैछ । बाँकी खेल वक्सिङ्ग, बुद्धिचाल र साइक्लिङ धरानको अन्य खेल स्थलमा हुनेछ ।

केही समय अघि प्रदेश १ खेलकुद बोर्ड सदस्य सचिव हंसराज वाग्ले, सदस्य रोशनी राई, सुनसरी खेलकुद विकास समिति अध्यक्ष दीपक राई, १६ न. वडाध्यक्ष मुरारि भट्टराई र १८ न. वडाध्यक्ष प्रवीण राई, कतारे सङ्घ सुनसरी अध्यक्ष कुबेर राई, बक्सिङ सङ्घ सुनसरी अध्यक्ष विकास गुभाजु ,प्रदेश १ बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राई लगायतले धरान रङ्गशाला कर्भडहलको अवलोकन गरेका थिए । प्रतियोगिताका लागि हल मर्मत सम्भार गर्नु पर्ने प्रशिक्षकहरूले सल्लाह दिएपछि कर्भडहल मर्मतसंभार गरिएको हो । केही दिन अघि मात्र लायन्स हेल्पिङ्ग ह्याण्ड्स धरान, बास्केटबल सङ्घ र जुडो सङ्घ सुनसरीले संयुक्त रूपमा धरान रङ्गशाला कर्भडहल परिसर सरसफाइ गरेका थिए ।

धरान रंगाशाला कर्भडहलमा भदौ २९ देखि असोज ८ गते सम्म प्रदेश १ प्रतियोगिता छनौट प्रतियोगिता हुनेछ ।