झापा : भद्रपुरको देउनियाँ पुलमा इँटा बोकेको ट्रकले पैदलयात्री आमा छोरीलाई ठक्कर दिँदा आमाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भद्रपुर नगरपालिका-२ गैरीगाउँ निवासी २३ वर्षीय तुलसा खवास (तामाङ) रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रकको ठक्करबाट मृतककी २ वर्षीया छोरी लुपुसमङ गम्भीर घाइते छिन् ।
मेची अस्पताल भद्रपुरमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कचनकवलबाट प्रेम इँटा बोकेर पाँचथर जाने क्रममा सोमबार दिउँसो भद्रपुरस्थित ज्ञानेचोक नजिकैको देउनियाँ पुलमाथि प्र-१-०१-००१ ख ३६५९ नम्बरको ट्रकले पैदलयात्री आमाछोरीलाई ठक्कर दिएको थियो ।
आमाको कोखमा छोरी थिइन् । ट्रक दक्षिणबाट उत्तरतर्फ गइरहेको थियो । दुर्घटना पश्चात् ट्रक अनियन्त्रित भई पुलमाथिबाट तल खसेको थियो । ट्रकमा सवार दुई कामदार घाइते समेत भएको छ ।
घाइतेहरू बिर्तामोड-२ निवासी बुद्धलाल राजवंशी र सोही ठाउँका अनिल हाँस्दा रहेका छन् । उनीहरूलाई पनि बिएण्डसी अस्पताल उपचारका लागि पठाइएको छ । यता ट्रक चालकलाई वडा प्रहरी कार्यालय भद्रपुरले नियन्त्रणमा लिएको छ ।