धरान : धरानका मेयर हर्क साम्पाङको अभियान अन्तर्गत धरानको सर्दु, खर्दु र निशाने खोलाबाट १० इन्चे पाइपमा पानी धरान-१३ को जानकी चौक आइपुगेको छ । 

निशाने खोलाको दोभानबाट सोमबार साँझ पानी जानकी चौक आइपुगेको अवसरमा सर्वसाधारण खुसीले रमाएका थिए भने श्रमदानमा निरन्तर खटिएकाहरू नुहाएका थिए । दिउसो नै पानी जानकी चौक आउने भनिएको भए पनि दिउसो पानी परेको कारण मुहानमा पाइप जडानमा ढिलाइ भएकोले साँझ मात्रै पानी झरेको थियो ।

मेयर हर्क साम्पाङलाई पनि उनका समर्थकहरूले १० इन्चे पाइपबाट आएको पानीमा नुहाएका थिए । सयौँको उपस्थितिमा मेयर हर्क साम्पाङले यो आफ्नो दोस्रो सफलता भएको बताए । यस भन्दा अघि पकुवा खोलाबाट धरान पानी ल्याईसकेको बताउँदै यो अर्को ठुलो योजना धरानमा भएको बताउँदै आफ्नो अभियानमा साथ सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे । 

निकै सङ्घर्षको बाबजुद निशाने दोभानबाट १० इन्चे पाइप धरान-१३ को जानकी चौक निस्किएर पहिलो पटक पाइप वास गरिएको र पानी परीक्षण पनि सफल भएको बताउँदै जनपथ रोडको पश्चिम साइडबाट धरान-११ को स्वस्तिका चौकमा रहेको खानेपानीको ट्याङकीमा पानी चाडै पुग्ने गरी काम गर्ने पनि बताइएको छ । 

जनपथमा पाइप विस्तार गर्न जङ्गल र बगरमा भन्दा सहज हुने तर सडक किनारामा खन्नुपर्ने भएकोले केही समय लाग्न सक्ने र त्यसका लागि काम तीव्र गतिमा अघि बढाउन प्राविधिकहरुसंग परामर्श गरेर काम अघि बढाइसकिएको अभियानमा सक्रिय रहेर खटिरेका तर्कबहादुर मगरले बताए । 

10रिजर्भ ट्याङ्की बनी नसकी धरानमा आयो पानी : 

धरानको निशाने दोभानमा २ लाख १० हजार लिटर भन्दा बढी क्षमताको आधुनिक खानेपानीको रिजर्भ ट्याङकी निर्माण भइरहेको छ ।

गोर्खा पिस फाउन्डेसन युके र हर्क साम्पाङ सहयोग समिति युकेको सहयोगमा निर्माण भइरहेको खानेपानीको ट्याङकी निर्माणको काम ३० प्रतिशत पुरा भएको बताइएको छ ।

तर ट्याङकी निर्माण सम्पन्न नभई सर्दु, खर्दु र निशाने खोलाबाट निशाने दोभानमा ल्याईपुर्याएको पानी सोमबार १० इन्चे पाइपमा जडान गरी जानकी चौक ल्याइएको हो । पाइप जडानको काम सकिने बित्तिकै ट्याङ्की निर्माण हुनुभन्दा पहिले नै पानी स्वस्तिका चौक ट्याङकीमा खसाइने बताइएको छ ।  

71183659241