चतरा : वराहक्षेत्र नगरपालिकाले जेष्ठ नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रमको थालनी गरेको छ । नगरपालिकाले जेष्ठ नागरिकहरूलाई सम्मान स्वरूप घरमै पुगेर स्वास्थ्यकर्मी मार्फत स्वास्थ्य परीक्षण र परामर्श दिन थालेको हो । 
नगरपालिकाको १० औं नगर सभामा  नगरपालिका वडा नं १ देखि वडा नं ११ मा रहेका  जेष्ठ नागरिकहरूलाई ३ महिनामा १ पटक घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई आवश्यक कार्यविधि बनाएर मङ्गलवारबाट उक्त कार्यक्रम सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत ऋद्बि प्रकाश सिटौलाले  बताए । 
नगरपालिकाले नगर स्वास्थ्य शाखा मार्फत सुरु गरिएको कार्यक्रमले मङ्गलवारबाट औपचारिक रूपमा नगर प्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत ऋद्बि प्रकाश सिटौला लगाएको उपस्थितिमा वराहक्षेत्र वडा नं ८ स्थित सालवनीका ९०  वर्षीय  कुमार जङ्ग शाहीको स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गरेपछि कार्यक्रमको सुरु गरिएको थियो ।
कार्यक्रममा ११ वटामा स्थानीय कार्यालयमा कार्यरत स्वास्थ्यकर्मी खटिने स्वास्थ्य शाखा जनस्वास्थ्य निरीक्षक प्रमुख उमेश मेहताले बताए । मेहताका अनुसार जेष्ठ नागरिकहरूलाई स्वास्थ्यकर्मीले स्वास्थ्य  परीक्षण, परामर्श र सामान्य औषधि समेत दिनेछन् । जेष्ठ नागरिकहरू स्वास्थ्य परीक्षणका क्रमशः सबै वडामा सञ्चालन हुनेछ ।
वडा नं १ र २ मा चतरा अस्पताल, वडा नं ३, ४ र ५ मा भरौल स्वास्थ्य चौकी, वडा नं ६, ७ र ८ मा महेन्द्रनगर स्वास्थ्य चौकी, वडा नं ९ र १० मा प्रकाशपुर स्वास्थ्य चौकी र वडा नं ११ मा मधुवन स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुले सेवा दिनेछन् । 
घरमै स्वास्थ्यकर्मी आएर परीक्षण गरिदिएकोमा खुसी लागेको वडा नं ८ सालवनीका ओमन शाहीले खुसी व्यक्त गरेका छन् । नगरपालिका नयाँ जनप्रतिनिधिले ल्याएको नयाँ योजनाले आफू जस्ता जेष्ठ नागरिकहरूलाई ठुलो फाइदा पुग्ने उनी बताउँछन् । जेष्ठ नागरिकहरूलाई सेवा दिने उद्देश्य राम्रो लागेको कमारजंग शाहीले बताए ।  घरमै आएर स्वास्थ्य परीक्षण भएकोमा दङ्ग देखिन्थे । जेष्ठ नागरिकहरूलाई सम्मान स्वरूप नगरपालिका स्वास्थ्य परीक्षण राम्रो योजना रहेको उनी बताउँछन् ।
उमेरका हिसाबले समाजका अभिभावकहरूलाई सम्मान स्वरूप स्वास्थ्य परीक्षण कार्यक्रम ल्याएको नगर प्रमुख रमेश कार्कीले बताए। घरमै आराम गरिरहेका जेष्ठ नागरिकहरूको सुबिधाकालागि नगरपालिकाले जेष्ठ नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रम योजना बनाइएको नगर प्रमुख कार्कीले बताए ।
baraha-kshetra-health-check 1