धरान : जिल्ला प्रहरी कार्यालय सुनसरीले एकै दिन ६१ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।

प्रहरीले लामो समय देखि प्रतिवादीहरू पक्राउ अभियान टोली गठन नै गरी पक्राउ गरिरहेको छ । सामान्य देखि गम्भीर मुद्दाका व्यक्तिहरू लामो समय देखि फरार रहेको भन्ने रेकर्ड देखिएपछि टोली नै परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

पक्राउ परेकाहरू अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना तोकिएका प्रतिवादीहरू रहेको प्रहरी उपरीक्षक ढकालले बताए । पक्राउ परेका सबैलाई मंगलबार अदालतमा बुझाइएको छ । केही दिन अघि देखि पक्राउ गरी राखेको र मंगलबार एकै दिन अदालतमा बुझाइएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को दुई महिनाको अवधिमा अदालतबाट कैद तथा जरिवाना तोकेका १ सय ३० जना फरार प्रतिवादीहरू पक्राउ गरिएको छ । उनीहरूबाट २६ वर्ष ८ महिना ३ दिन कैद र ४ लाख २० हजार ३४ रुपैयाँ जरिवाना असुल्न सफल भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक ढकालले जानकारी दिए ।