चतरा : सुनसरीको वराहक्षेत्र नगरपालिकाले पहेँलो कार्ड प्राप्त गरेका अपाङ्गलाई सामाजिक सुरक्षा भत्ता स्वरूप मासिक ५ सय दिने भएको छ । 
नगरपालिकाको १० औँ नगरसभामा वराहक्षेत्र नगरपालिका वडा नं १ देखि ११ मा रहेका पहेँलो कार्ड प्राप्त गरेका सबै नागरिकलाई आर्थिक वर्ष २०७९/०८० देखि पाँच सय मासिक भत्ता उपलब्ध गराउने निर्णय भएको थियो ।
सरकारले रातो र हरियो कार्ड प्राप्त गर्ने नागरिकलाई मात्र सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ । तर वराहक्षेत्र नगरपालिकाले पहेँलो कार्ड प्राप्त गरेका शारीरिक रूपले अपाङ्गहरूलाई सम्मान स्वरूप नगरपालिकाले ५ सय उपलब्ध गराउने निर्णय गरेको नगर प्रमुख रमेश कार्कीले बताए ।
उक्त निर्णय भए बमोजिम नगरपालिकाले सबै वडा कार्यालयमा भएका पहेँलो कार्डको प्रतिलिपि सहित यथाशीघ्र पठाउनु पत्राचार समेत गरेको प्रमुख प्रशासकीय अधिकृत ऋद्धि प्रकाश सिटौलाले बताए ।