मोरङ : मोरङको लेटाङ नगरपालिकाले दोस्रो स्थानीय तह निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरूले सुरुवाती सय दिनको कार्यप्रगति सार्वजनिक गरेका छन् । बुधवार नगरपालिकाको सभा हलमा पत्रकार सम्मेलन गरी नगरपालिकामा नयाँ जनप्रतिनिधि आएपछि भएका कामहरू बारे जानकारी गराएका हुन । 
पत्रकार सम्मेलनमा नगर प्रमुख भूपेन्द्र कुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला र प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले नगरपालिकामा नयाँ नेतृत्व आएपछि भएका कामहरू बारे जानकारी गराएका थिए ।
पत्रकार सम्मेलनमा नगरपालिकाले पर्यटन विकास र शिक्षाको क्षेत्रमा अत्यन्तै नयाँ ढङ्गले उदाहरणीय काम सुरु गरेको दाबी गरेको छ । 
पर्यटन विकासका लागि सडक सौन्दर्यकरण र गुराँस संरक्षण 
पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख लावतीले नगरवासीलाई समेत नगरको विकासमा जिम्मेवार बनाउने उद्देश्यले खासगरि पर्यटन क्षेत्रको विकासका काममा नगरवासीलाई सहभागी गराएर केही नयाँ काम सुरु गरिएको जानकारी दिए । उनले लेटाङको पर्यटन विकासका लागि जनताको सहभागितामा सडक सौन्दर्यकरण, पर्यटकीय पदमार्ग निर्माण र गुराँस संरक्षण तथा पर्यटन क्षेत्र विकास कार्यक्रमको थालनी गरिएको जानकारी दिए । लेटाङ नगरपालिकाको प्रवेश द्वारको रूपमा रहेको लेटाङ कानेपोखरी सडकको गंगेचौकदेखि दक्षिण जङ्गलतर्फ सडक फराकिलो बनाएर १ किलोमिटर क्षेत्रमा सौन्दर्यकरणको काम सम्पन्न भएको उनले जानकारी दिए । 
यसअघि फोहोर फाल्ने गरिएको सो क्षेत्रमा विभिन्न आकर्षक प्रजातिका फूल फुल्ने रुखका बिरुवा रोपेर सौन्दर्यकरणको काम सुरु गरिएको जनाइएको छ । नगरपालिकाले सडक फराकिलो बनाउने, बिरुवा खरिद गर्ने र बिरुवा संरक्षणका लागि तारजाली खरिद गर्ने काम गरेकोमा झाडी फाँड्ने, बिरुवाको हेरचाह र गोडमेल गर्ने विषयमा स्थानीय सामुदायिक वनहरूले जिम्मेवारी लिएर काम गरिरहेको नगर प्रमुख लावतीले बताए ।
रोपिएका सबै बिरुवाहरूमा फूल फूलेपश्चात् लेटाङ नगरपालिकाको प्रवेश मार्ग एउटा आकर्षक पर्यटकीय स्थलको रूपमा विकास हुने अपेक्षा गरिएको छ । नगरपालिको नेतृत्वमा प्रवेश मार्गमा सौन्दर्यकरणको काम सुरु गरेसँगै सो कार्यबाट प्रभावित भएर लेटाङ ४ र २ मा समेत स्थानीयवासी स्वतःस्फूर्त रूपमा सौन्दर्यकरणको काममा जुटेको नगर प्रमुख लावतीले जानकारी दिए । 
यसै गरी पर्यटन विकासकै लागि लेटाङकै प्रमुख पर्यटकीय स्थलको रूपमा रहेको राजारानी क्षेत्रमा जाने पुरानो पैदल मार्गलाई सफाइ गरी आकर्षक पर्यटकीय पदमार्ग निर्माणको काम पनि सुरु गरिएको प्रमुख लावतीले बताए । लेटाङ नगरपालिकाको आग्रहमा स्थानीयवासीको स्वतःस्फूर्त सहभागितामा पदमार्गको झाडी फाँडेर सरसफाइ गर्ने काम सम्पन्न भएकाले अब त्यस ठाउँमा नगरपालिकाले थप सौन्दर्यकरणको काम गर्ने जनाइएको छ ।
लेटाङ नगरपालिकाको वडा नम्बर ७ मा गुराँस संरक्षण तथा पर्यटकीय क्षेत्र विकासको काम पनि नगरपालिकाको आग्रहमा वडा र स्थानीयवासीको सहभागितामा सुरु गरिएको नगर प्रमुख लावतीको भनाइ छ । गुराँसको जङ्गल रहेको सो क्षेत्रमा स्थानीयवासीको सहभागितामा थप वृक्षारोपण गरी अन्य संरचनाहरू समेत बनाएर पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने गरी नगरपालिकाले काम सुरु गरेको प्रमुख लावतीको भनाई छ । नगरपालिकाको सानो लगानीमै जनसहभागिता जुटाएर उल्लेख काम गर्न सकिने भएकाले पर्यटन विकासका लागि सोही अनुसार नगरपालिका अघि बढिरहेको उनले बताए ।    
शिक्षा क्षेत्रमा महत्त्वपूर्ण ४ वटा कामको थालनी
लेटाङ नगरपालिकाले पछिल्लो सय दिनको कार्यकालमा शिक्षाको क्षेत्रमा समेत महत्त्वपूर्ण काम गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । बालिका बचत कार्यक्रम, आमाबुवाविहीन बालबालिकाहरूलाई निःशुल्क शिक्षा, स्थानीय पाठ्यक्रम अध्यापनको सुरुवात र लिम्बू बाहुल्य क्षेत्रका विद्यालयमा लिम्बू भाषामा पठन पाठनका लागि तयारी सुरु गरिएको उपप्रमुख कृष्णकुमारी निरौलाले पत्रकार सम्मेलनमा जानकारी दिए । बालिका बचत कार्यक्रम अन्तरगत नगरपालिकाका पहाडी भूगोल भएका वडाका अब जन्मिएका बालिकाहरूको नाममा बैङ्क खाता खोलेर नगरपालिकाले १६ वर्षसम्म प्रत्येक वर्ष २ हजार रुपैयाँका दरले रकम जम्मा गरिदिने जनाइएको छ । 
यसरी नगरपालिकाले जम्मा गरिदिएको रकममा अभिभावकले पनि रकम थप गर्न सक्नेछन् भने सो रकम बालिकाले एसइई उत्तीर्ण गरेर कक्षा ११ मा भर्ना हुने समयमा मात्र निकाल्न पाइनेछ । यसबाट नगरको पहाडी वडाका बालिकाहरूले बिचैमा पढाइ छाड्ने समस्या समाधान हुने तथा आर्थिक अभावका कारण एसइई पछिको अध्ययन पुरा गर्न समस्या भएका बालिकाहरूलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । बालिका बचत कार्यक्रमको नियमावली बनाएर कार्यान्वयनमा आइसकेको नगर उपप्रमुख निरौलाले जानकारी दिए ।
यसै गरी नगरभरिका अभिभावक विहीन बालबालिकाहरूलाई नगरपालिकाले निःशुल्क अध्ययन गराउने कामको पनि सुरुवात गरेको छ । सरकारले विद्यालय तहको शिक्षा निःशुल्क भने पनि पूर्णरुपमा कार्यान्वयन नभएकाले शिक्षाको उज्यालो घामबाट नगर भित्रका कोही पनि बालबालिका वञ्चित नहोउन् भन्ने उद्देश्यका साथ यो कार्यक्रम सुरु गरिएको उपप्रमुख निरौलाको भनाइ छ । नगर प्रमुख र उपप्रमुखले गत जेठ ९ गते पदभार ग्रहण गर्दै गर्दा नगर क्षेत्र भित्रका अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने निर्णय गरे अनुसार त्यसको कार्यान्वयन गरिएको हो । लेटाङ नगरपालिको शिक्षा क्षेत्रमै अर्को महत्त्वपूर्ण काम पनि सुरु गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 
बालबालिकाहरू आफ्नै ठाउँ बारे अनविज्ञ नहोउन् र आफ्नो ठाउँको प्रचार प्रसार होस् भन्ने उद्देश्यका साथ लेटाङ नगरपालिको स्थानीय पाठ्यक्रम निर्माण गरी सबै विद्यालयमा पठन पाठन समेत सुरु गरेको उपप्रमुख निरौलाले जानकारी दिए । यस्तै लेटाङ नगरपालिकाका लिम्बू जातीको बाहुल्य रहेको क्षेत्रका विद्यालयमा लिम्बू भाषाको पठन पाठन सुरु गर्ने उद्देश्यका साथ पाठ्यक्रम निर्माणको काम अघि बढाइएको जनाइएको छ ।