धरान : नेकपा एमाले प्रदेश १ कमिटी सदस्य किशोर कुमार कार्कीले टिकट वितरण प्रक्रियामा असन्तुष्टि जनाएका छन् । स्थानीय स्तरमा अलोकप्रिय छवि भएकाहरू काठमाण्डौमा अध्यक्ष केपी शर्मा ओलीको चाकडी गरेर टिकट ल्याउन सक्ने अवस्थामा रहेको भन्दै उनले आक्रोश व्यक्त गरेका हुन् । 

बुधवार राती फेसबुकमा स्ट्याटस पोष्ट गर्दै उनले अध्यक्ष ओलीले पनि स्थानीय स्तरमा अध्ययन गरेर भन्दा चाकडीको भरमा टिकट वितरण गर्ने गरेको उनले प्रस्ट पारे । ओली आफै एमाले भित्र निरङ्कुश र तानाशाह भएको उनको आरोप छ । उनको आक्रोश जायज भएको भन्दै असन्तुष्ट कार्यकर्ताले समर्थन जनाइरहेका छन् ।
यस्तो छ उनको फेसबुक पोष्ट 
एउटा कमरेडले भने -‘म टिकटका लागि काठमाडौँ जादैछु’ 
उनले ल्याउने टिकट बसको ,प्लेनको भन्दा अरू ल्याउँदैनन् भन्ने मेरो सोचाई । म गलत पनि हुन सक्छु ।
जबसम्म केपीको मा गएर टिकट माग्ने प्रथा अन्त्य हुँदैन तब सम्म सिस्टम बस्दैन ।
आकाङ्क्षीहरू सबै काठमाण्डौमा । केपीले तिमीहरू कोही नआऊ हामीले सबै अध्ययन गरेर निर्णय दिन्छौ भन्न सक्नु पर्छ । तर केपी आफैमा निरङ्कुश, तानाशाह एमालेभित्र । आफू र आफ्नो बाहेक कसैलाई नगन्ने दम्भ छ । दुई चार जना जुठो पुरो चाटेकाहरूको रिपोर्टिङमा विश्वस्त । घरभित्र बलिरहेको आगो निभाउनु छैन । बाहिर बलेको आगोमा रमाउने । 
सबै काठमाण्डौमा लबिङका लागि गइरहेका छन् । साँडेको झर्ला र खाउँला भन्ने आशामा स्यालहरूको बथान  । पार्टी कसरी जोगाउने चिन्ता हैन । म कसरी टिकट पाउँ र आफ्नो दुनो सोझ्याऊ भन्ने चिन्ता छ । अनि पार्टीका महामहिम शक्तिशाली अध्यक्ष तेल लाउन आएका छन् भन्ने कुरामा गमक्क छन् ।
 गएको स्थानीय निर्वाचनमा जे हुनु हुँदैन भनियो त्यही भयो ।स्वनाम धन्य नेताहरू छन् हामी कहाँ । उनीहरूको बोली केपीकोमा बिक्छ तर जनतामा बिक्दैन । 
केपी ओलीको स्वाभिमान, देश प्रेम, सार्वभौमसत्ताको रक्षा या ओलीको सबै योगदानलाई सिरानी लगाएर ब्लाकमेल गर्नेहरूलाई र आँखा चिम्लेर प्रभु भनेर दण्डवत् गर्नेलाई स्याबास भनेर पुरस्कृत गर्ने ? यस्तो एमाले हामीलाई मलाई चाहिएको हैन । काठमाडौँ धाउने कुरा,क्रियाकलाप अन्त्य गर ।