विराटनगर : आठौँ संविधान दिवस प्रदेश १ सरकारले प्रदेश भरीका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा वृक्षारोपण तथा दीपावली लगायतका कार्यक्रम गरी भव्यताका साथ मनाउने भएको छ ।  

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा भएको संविधान दिवस मनाउने तयारी सन्दर्भको छलफलमा तीन दिनसम्म विविध कार्यक्रम गरी दिवस मनाउने निर्णय भएको छ । 

जसअनुसार असोज २ गते, प्रदेशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूले राष्ट्रिय झण्डाका साथै दिवस केन्द्रित ब्यानर सजाई कार्यालय परिसरको सरसफाइ गरिने र साँझमा दीपावली गरिने भएको छ । यस्तै ३ गते, विराटनगरको रानीदेखि बरगाछिसम्मको क्षेत्रमा रहेको सडकको बिच भागमा वृहत् वृक्षारोपण कार्यक्रमको आयोजना गरिने भएको छ । 

यस्तै सोही दिन प्रदेशवासी आम नागरिकलाई आ–आफ्नो घर टोल र महत्त्वपूर्ण सार्वजनिक स्थलहरूको सरसफाइका साथै घरघरमा दीपावली गर्न आव्हान गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव गणेश नायकले जानकारी दिए । यस्तै असोज ४ गते दीपावली गरेर दिवस मनाइने छ । 

२०७२ मा नेपालको संविधान जारी भएपछि सरकारले विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउँदै आएको छ । विभिन्न प्रभात फेरी तथा गोष्ठीमा सीमित हुने दिवसलाई यो वर्ष फरक ढङ्गले वृक्षारोपण गरी मनाइने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले जानकारी दिए । ‘सडकको सौन्दर्यीकरण र हरियाली बनाउनका साथै जलवायु परिवर्तनको सम्भावित जोखिमलाई कम गर्न वृक्षारोपण कार्यक्रमको आयोजना गरिने भएको हो, मन्त्री कार्कीले भने ।

वृक्षारोपण कार्यक्रममा निजामती कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल स्काउटका प्रतिनिधि तथा हामी स्वयंसेवी अभियानका विद्यार्थीहरूको सहभागिता रहने मन्त्रालयले बताएको छ ।