धरान : धरानमा विगतका थुप्रै निर्वाचनहरूमा सुकुम्वासीको मुद्दा लिएर सुकुम्वासी बस्तीमा पुग्ने नेताहरूलाई धरानका सुकुम्वासीहरूले भोट दिएर जिताए । जितेर गए पछि एक पटक पनि सुकुम्वासीको आँगन टेक्ने कुरा त परै जावस उनीहरूले चुनाव ताका बोलेका कुरा समेत अलिकति पनि पुरा गरेनन् । त्यसैको परिणाम यस पटक धरानमा सुकुम्वासीका नेता कुमार कार्कीलाई स्वतन्त्र उम्मेदवार बनाएर प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनाएका छन् । 

बिहीबार धरानको भानुचौकमा एक कार्यक्रमको आयोजना गरी स्वतन्त्रबाट सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट सुकुम्वासी नेता कुमार कार्कीले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । 

देशभरका सुकुम्वासीहरूको साझा संस्था नेपाल बसोबास बस्ती संरक्षण समाजका केन्द्रीय अध्यक्ष समेत रहेका कार्कीले आफ्नो उम्मेदवार घोषणासँगै पाँच वर्षमा गर्ने कामको पाँच प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् ।

धरानमा मात्रै १३ हजार ६ सय ७० भन्दा बढी घरधुरी सुकुम्वासीको बसोबास रहेको छ । त्यसैले धरान र सुनसरीको क्षेत्र नं १ को चुनावमा सुकुम्वासीको मत  निर्णायक मानिन्छ । 

कार्कीले आफ्नो उम्मेदवारी घोषणसँगै अव सुकुम्वासीलाई ढाटने नेता र उम्मेदवार जरुरी नरहेको र सुकुम्वासीकै झुपडीबाट आफू उम्मेदवार भएको बताए । अव सुकुम्वासीको समस्या समाधान गर्नेगरी आफ्नो उम्मेदवारी भएको बताउँदै कार्कीले विगतमा सुकुम्वासीको भोट पाएर जितेका नेताहरू आज मन्त्री हुँदा सम्झेनन् त्यसैले आफ्नो उम्मेदवारी धरानको मात्रै होइन देशभरिको सुकुम्वासीहरूको लागि भएको समेत बताए ।

उनले आफ्नो ५ बुँदे प्रतिविद्धताको पहिलो बुँदामा फास्ट ट्र्याकमा निः सर्त स्थानीय लालपुर्जा सहित सुकुम्वासीमुक्त राष्ट्र घोषणा र समुदायमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने, निर्ब्याजी आवास ऋण सहायता प्रदान गरी हरेक झुप्रा घर रङ्गिन बनाउने र खानेपानीको दीर्घकालीन स्रोत खोजेर निःशुल्क खानेपानी र विद्युतको नीति अघि सार्ने उल्लेख गरेका छन् । 

यसैगरी भिभिआइपी र भिआइपीको सेवा सुविधा खारेज गरेर सरकारी स्रोतसाधनको दुरुपयोग हुन नदिई एक सहर एक ठुलो उद्योगको स्थापना, एक घर एक रोजगारको प्रबन्ध गर्दै हरेक ६० वर्ष पुगेका असहाय र फरक क्षमता भएका नागरिकको निःशुल्क स्वास्थ्य उपचार र आजीवन पालनपोषण गर्ने नीति ल्याउने पनि प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । 

यस्तै, सर्दु सेउती लगायत खोलामा बस्तीको क्षति नहुने गरी दीर्घकालीन तटबन्ध सहित रिङ रोडको कार्यक्रम ल्याएर पर्मको नीतिबाट भौतिक पूर्वाधारको विकास गर्ने र बिच बजारबाट जाने भनेको ६ लेनको बाटो फ्लाईओभर वा अण्डरग्राउण्डबाट बजारको क्षति नहुने गरी निर्माण गर्ने पनि कार्कीले घोषणा गरेका छन् ।

कार्यक्रम सुरु हुनु पूर्व लोकतान्त्रिक चौकमा मजदुरहरूले आफूहरूलाई यहाँ कार्यक्रम हुँदा मर्का हुने भन्दै कार्यक्रम गर्न दिएनन् । अन्त्यमा भानुचौको पूर्व पट्टि, घण्टाघरको दक्षिणमा कार्यक्रम गरिएको थियो । कार्यक्रमलाई अरू पनि सुकुम्वासी नेताहरूले सम्बोधन गरेका थिए ।