धरान : भर्खरै सम्पन्न धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा धरान-१७ मा रहेको सप्तरङ्गी पार्कलाई बहुजातिय पार्क बनाउने प्रस्ताव गरिएकोमा सोही अनुसार धरान उपमहानगरपालिकाले छलफल अघि बढाएको छ । 

निकै लामो समय देखि सप्तरङ्गी पार्कको बारेमा चुनावी मुद्दा बन्दै आएको पार्क थुप्रै चुनाव सकिए पनि अझै व्यवस्थित हुन नसक्दा धरान उपमहानगरपालिकाले यसलाई धरानका विभिन्न जनजातीय सङ्घसंस्थाको सहकार्यमा बहुजातिय पार्क बनाउने प्रस्ताव अघि सारेको छ ।

सोही अनुसार मेयर हर्क साम्पाङले धरानका विभिन्न जनजातीय सङ्घसंस्थाका पदाधिकारीहरुसंग प्रारम्भिक छलफल सुरु गरेका छन् । धरान उपमहानगरपालिकाले एक्लै सप्तरङ्गी पार्कको संरक्षण र सम्वद्र्धन गर्दा धेरै ठुलो खर्च लाग्ने भएकोले पार्कलाई विभिन्न जात जातिको धर्म, संस्कार र पहिचान झल्किने गरी बहुजातिय पार्ककोरुपमा विकास गर्नका लागि धरानका सबै जनजातीय सङ्घ संस्थाहरूलाई धरान उपमहानगरपालिकाले छलफलका लागि आव्हान गरेको थियो ।

जसमा पहिलो दिन केही सीमित जातीय संस्थाका पदाधिकारीहरूको मात्रै सहभागिता भएको थियो भने अव आउने बिहीबार बृहत् छलफल हुने गरी पहिलो छलफल टुङ्गिएको छ । 

छलफलमा धरान उपमहानगरपालिकाको प्रस्ताव स्वागतयोग्य भएको जातीय सङ्घसंस्थाका पदाधिकारीले बताए । उनीहरूले उपमहानगरको यो प्रस्तावको बारेमा सक्रिय भएर लाग्ने प्रतिबद्धता समेत जनाएका छन् । 

छलफलमा मेयर साम्पाङले पार्क भित्र विभिन्न जनजातीय सङ्घ संस्थाका प्रतिनिधिहरूले आफ्नो संस्कार संस्कृति समेटिने खालका तोकिएको क्षेत्र भित्र बनाउनुपर्ने बताएका थिए । सप्तरङ्गी पार्क भित्र प्रवेश गरेर बाहिर निस्किदा साँच्चै यहाँको जाति, भाषा, संस्कार संस्कृतिको बारेमा जानकारी दिने खालका बस्तुहरू जातीय सङ्घ संस्थाहरूले बनाउनुपर्ने मेयर साम्पाङले बताए ।