इटहरी : नेपाल प्रेस युनियन सुनसरीले दुर्घटनामा परेका सञ्चारकर्मी प्रेस चौतारी नेपाल दुहबीका नगर संयोजक मित्र क्षेत्रीलाई बीमा बापतको एक लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
शुक्रवार (आज) दुर्घटना पीडित सञ्चारकर्मी क्षेत्रीको घरमै पुगेर युनियन सुनसरी अध्यक्ष पवन अधिकारी, पत्रकार महासङ्घका केन्द्रीय सदस्य अमर खड्का, प्रेस युनियनकी केन्द्रीय सदस्य कमला चौधरी, प्रेस चौतारी नेपाल प्रदेश १ का उपाध्यक्ष सुमन पुरी, प्रेस चौतारी नेपाल सुनसरीकी अध्यक्ष शुभद्रा प्याकुरेल, महासङ्घ एवम् युनियन सुनसरीका कार्यसमितिको उपस्थितिमा बीमा बापतको एक लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।
युनियन सुनसरीका अध्यक्ष अधिकारीका अनुसार अजोड इन्स्योरेन्स सँगको सहकार्यमा जिल्लाका २७५ जना सञ्चारकर्मीको दुर्घटना बीमा गरिएको थियो । बिमित सञ्चारकर्मी क्षेत्री गत साउन दोस्रो साता दुर्घटनामा परेका थिए ।
अधिकारीका अनुसार यसअघि साउन दोस्रो साता नै दुर्घटनामा परेका पत्रकार मनोज दाहाललाई गत भदौ ११ गते नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको उपस्थितिमा एक लाख रुपैयाँ हस्तान्तरण गरिएको थियो । ‘हामीले गत ११ गते मात्रै दुर्घटनामा परेका अर्का सञ्चारकर्मीलाई एक लाख रुपैयाँ हस्तान्तरण गरेका थियौँ,’ अधिकारीले भने, ‘प्रेस युनियनले सबै सङ्गठनमा आस्था राख्ने पत्रकारहरूलाई समस्यामा सहयोग गर्दै आएको छ ।’ उनले जुनसुकै सङ्गठनमा रहे पनि पत्रकार एउटै भएकाले उनीहरूको समस्यामा आफूहरूले मल्हमपट्टी लगाउने काम गरिरहेको बताए । उनले भने, ‘सङ्गठनको नेतृत्व गर्नु भनेको अतिथि आसन ग्रहण गर्न मात्रै होइन, पत्रकारको समस्यामा काम गर्नका लागि हामी जुनसुकै बेला तत्पर छौँ ।’
एक लाख रुपैयाँको चेक बुझ्दै सञ्चारकर्मी क्षेत्रीले आफू दुर्घटनामा पर्दा युनियन सुनसरीले ठुलो सहयोग गरेको स्मरण गरे । ‘दुर्घटनामा परेको समयदेखि नै प्रेस युनियनले ठुलो सहयोग गरेको छ,’ उनले भने, ‘हस्पिटलमा आवश्यक परेको समयमा होस् वा अन्य समयमा नै, यो मेरो लागि ठुलो सहयोग हो ।’
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य अमर खड्काले प्रेस युनियन सुनसरीले गरेको उक्त कार्य सराहनीय रहेको भन्दै प्रशंसा गरे । उनले भने, ‘समस्या परेको बेला सङ्गठन चाहिन्छ भन्ने उदाहरण युनियन सुनसरीले देखाएको छ, यो सराहनीय छ।’ उनले पत्रकार महासङ्घबाट पनि दुर्घटनामा परेका सञ्चारकर्मीहरूका लागि थोरै भए पनि राहत उपलब्ध गराउँदै आएको समेत बताए ।
कार्यक्रममा प्रेस युनियनकी केन्द्रीय सदस्य कमला चौधरी, प्रेस चौतारी प्रदेश १ का उपाध्यक्ष सुमन पुरी, पत्रकार महासङ्घ सुनसरीका उपाध्यक्ष गणेश निरौला लगायतले बोलेका थिए ।
‘हाम्रा समस्या दिनानुदिन बढ्दै गएको छ, साझा समस्या समाधानमा हामी सबै पत्रकार एकजुट हुनुपर्छ,’ प्रेस चौतारी प्रदेश १ का उपाध्यक्ष पुरीले भने, ‘हाम्रा मुद्दा सँगै छन्, समस्या सँगै छन्, त्यसैले हामी सबै मिलेर काम गर्नुपर्छ ।’