झापा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको प्रधानमन्त्री विदेशीको योजनामा बन्ने गरेको आरोप लगाएका छन्।
राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनको बिर्तामोडमा आयोजित जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले आउँदो निर्वाचनका लागि कुनकुन दलहरूबिच गठबन्धन हुनुपर्छ, कुन दलले चुनाव जित्नु पर्छ र कसलाई प्रधानमन्त्री बनाउनु पर्छ भन्ने विषयमा विदेशीहरूले योजना बनाइ राखेको बताए ।
विदेशीहरूलाई खुसी नबनाई नेपालको राजनीतिमा टिक्न सकिँदैन भन्ने डरले पनि विदेशीहरूलाई खुसी पार्ने नाममा आत्मासर्मपणवादी प्रवृत्ति देशमा विकसित भएको र नेपाल शक्ति राष्ट्रहरूका बिचमा रणनीतिक प्रतिस्पर्धाका रूपमा परिणत भएको अध्यक्ष लिङ्देनले बताए ।
अध्यक्ष लिङ्देनले मुलुकमा आमूल परिवर्तनको खाँचो रहेको जसका लागि देशको राजनीतिमा परिवर्तन आवश्यक रहेको बताए। उनले मुलुकको आमूल परिवर्तनका लागि युवालाई राजनीतिमा आउन समेत आग्रह गरे ।
देशको राजनीतिमा राम्रो मान्छेको उपस्थिति जरुरी रहेको बताउँदै अध्यक्ष लिङ्देनले भने : 'जब चुनाव आउँछ तब तपाई विक्रीको बस्तु सरह युवालाई हेरिन्छ अनि कसरी देश बन्छ।'
राप्रपा यो निर्वाचनबाट अकबरी सुनका रूपमा उदय हुने र देशलाई आमूल परिवर्तन गर्ने अग्रणी पार्टी बन्नेमा शङ्का नगर्न कार्यकर्तालाई आग्रह समेत गरे ।
आगामी मङ्सिर ४ मा हुने यो निर्वाचनमा राप्रपालाई हार्ने छुट नभएकाले गाउँ गाउँमा गएर चुनावी माहौल बनाउन समेत अध्यक्ष लिङ्देनले कार्यकर्तालाई निर्देशन दिए ।
कार्यक्रममा पार्टीका महामन्त्री भक्ति सिटौला, प्रदेश अध्यक्ष राम थापा, केन्द्रीय सदस्य अम्बर बहादुर विष्ट, केन्द्रीय प्रशिक्षण विभाग सदस्य खुस्बू ओली, जिल्ला अध्यक्ष केशव ओझा, सङ्गठनका प्रदेश अध्यक्ष राजकुमार योङ्ग्या, लगायतले बोलेका थिए ।